चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधवार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

उनलाई चलचित्र विकास वोर्डका कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । बोर्ड परिसरमा पूजाआजापश्चात केसी कार्यकक्षमा प्रवेश गरेका थिए । पदभार ग्रहणसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले चलचित्र क्षेत्रका समस्याहरूले आफैंले लामो समयदेखि झेल्दै आएको र ती समस्याहरू समाधानका लागि आफू बोर्डमा आएको बताए ।

छिट्टै विशेष कार्यक्रम गरेर स्पटब्वाईदेखि कलाकार, निर्माता–निर्देशक सबैका समस्या सुन्ने उनले बताए । चलचित्र क्षेत्रका समस्यालाई केलाएर काम गर्ने आफ्नो योजना रहेको सुनाए ।

अध्यक्ष केसीले आफूले तन, मन र वचनले चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासका लागि काम गर्ने बताए ।

‘चलचित्र क्षेत्रमा धेरै कामहरू गर्न पाए हुन्थ्यो । बाँचुञ्जेल चलचित्र क्षेत्रमा समर्पित हुन पाए हुन्थ्यो । मभन्दा पछि आएका कलाकारहरूलाई सपोर्ट गर्दै, मभन्दा अग्रजहरूलाई सम्मान गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउने हिसाबले यहाँ आएको हुँ,’ अध्यक्ष केसीले भने ।

रेडियोमा बाल कार्यक्रम सञ्चालन, गायक हुँदै अभिनयमा प्रवेश गरेका केसीले थुप्रै हिट चलचित्रहरू दिएका छन् । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेशसँगै केसीलाई बोर्ड अध्यक्षको दाबेदारका रूपमा हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय