अब गठबन्धनको डम्फू बजाउने हैन, पार्टी बलियो बनाउनु पर्छ : माधव नेपाल
काठमाडौँ — सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । पार्टीको संगठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको ‘डम्फू बजाउने काम’ छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । यस क्रममा उनले आगामी आम निर्वाचनमा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबीसमेत गरेका छन् ।
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।
अहिले तपाइँहरूलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं । अब मंसिर महिनामा चुनाव आउँदैछ । सम्भवत: मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फू बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ,’ अध्यक्ष नेपालले भने ।
यसैबीच उनले स्थानीय तह निर्वाचनका बेला आफूहरूले संगठन बनाउने वा विस्तार गर्ने काममा ध्यान नदिँदा गठबन्धन दलबाट अपेक्षा अनुरुप सहयोग नपाएको गुनासोसमेत गरेका थिए ।
उनले भनेका छन्, ‘सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन । यो कुरालाई बुझ्नुपर्ने आवश्यकता छ । नेपाली कांग्रेस एउटा शक्तिको रुपमा उदाएको छ । हिजोदेखिको इतिहास भएको हुनाले एमाले पनि खुम्चिँदै गएको भएता पनि त्यो दोस्रो शक्तिको रुपमा छ भने अनि माओवादीले पनि यस बीचमा जनयुद्ध लडेर आउने क्रममा आफ्नो हैसियत देखाएको छ । हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउन अवस्था छ । अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौं हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यो हुनाले अरु पार्टीभन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा