झापामा भारतीय नागरिकको हत्या गर्ने तीन जना पक्राउ।
झापाको अर्जुनधारामा एक साताअघि बोराभित्र फेला परेको भारतीय नागरिकको भएको खुलेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाईको हो। उनको शव ह्युम पाइपभित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
घटनालगत्तै झापा प्रहरीले अनुसन्धान सुरू गरेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडले उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक पनि गरेको छ। अर्जुनधारा- ७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीले हत्या घटनामा संलग्न थप एक जना फरार रहेको र उनको पनि खोजी भइरहेको जनाएको छ।
प्रहरीका अनुसार उनको हत्या गर्न ५ लाख रुपैयाँ खर्च भएको छ। बराह क्षेत्रका परियार र अर्का फरार एक व्यक्तिले ५ लाख नगदै लिएर उनको हत्या गरेको अनुसन्धानबाट देखिएको छ। झापा प्रहरीका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने,‘भारतीय नागरिकको हत्याका लागि जानुकाले पटक-पटक गरेर ५ लाख रुपैयाँ उनीहरूलाई दिएको देखिन्छ।
हत्याका लागि जानुकाले परियारलाई २ पटकमा ४ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएकी थिइन्।
गुजरात घर भएका मृतकसँग जानुकाको भारतमै चिनजान भएको थियो। ०७६ सालमा कामको सिलसिलामा जानुका भारत पुगेकी थिइन्। सोही चिनजानका आधारमा नरेशकुमार अर्जुनधारा आएका थिए।