शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाबारे भ्रम छर्न खोजिएको बताएका छन् । शनिबार सिराहामा उनी सहभागी कार्यक्रममा होहल्लासँगै आक्रोश प्रकट भएपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ । ”आज सिराहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ,” उनले भनेका छन् ।
त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ उनको भनाइ छ । ”लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन,” उनले भनेका छन् ।
सो घटनापछि पनि सिराहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उनले बताएका छन्।



