नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताएका हुन् ।
‘हामी बढी कार्यनीतिमा अल्झियौ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो’, प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो ।’ त्यसको प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा चक्करमा फसेको स्वीकार गरे ।



