नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो बैंक डिटेल निकालेर ठाउँठाउँमा वितरण गरे हुने बताएका छन् ।
सार्वजनिक लेखा समितिमा परेको उजुरीमाथि छलफलका क्रममा जवाफ दिँदै कार्कीले यस्तो बताएका हुन् । उनको घरबाट ३ करोड हराएको आरोप उजुरीकर्ताको छ ।
तर, आफ्नो घरबाट ३ करोड नहराएको जवाफ दिँदै कार्कीले उजुरी कर्ताले जे उजुरी दिँदा पनि हुन्छ भनि प्रतिप्रश्न गरे । “न ३ करोड हराएको छ । न त हाम्रा घर-परिवार संलग्न छन् । उजुरीकर्ताले जे उजुरी गर्दा नि हुन्छ ?” कार्कीले भने, “हाम्रा बैंक डिटेल निकालेर ठाउँठाउँमा वितरण गरे हुन्छ ।”
उनले सामान्य मर्यादा पनि नराखेर जे मन लाग्यो त्यही भनेको बताए । आफूसहित आफ्नो परिवारको बैंक खाता तथा कल डिटेल पनि हेरे हुने उनको जवाफ छ ।
“मेरो, मेरो परिवारको बैंक खाता, कल डिटेल हेरे हुन्छ,” उनले भने, “उजुरीकर्ताको नाम किन भनौँ, अनुसन्धानमा भनौँला । उजुरीकर्ताको पनि कल डिटेल छानबिन गरे हुन्छ ।”
समितिमा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको उजुरीको विषयमा छलफल भएको थियो । उक्त प्रकरणमा छानबिनका लागि समिति बनाइनुपर्ने रास्वपा सांसद खगेन्द्र सुनारले माग गरेका छन् ।



