नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए ।
भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरे ।
उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनहरूको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
समापनमा एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
श्रीलंकामा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरे । श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गरी नेपाल र श्रीलंकाबीचको कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान गरेका थिए ।
श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा दुई देशका कम्युनिस्ट आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति, दक्षिण एशियामा वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका अनुभवबारे विस्तृत छलफल भएको जनाइएको छ ।
