स्वयम्भू र हनुमानढोका जोड्ने ‘हेरिटेज मार्ग’ बनाउँछु: नवनियुक्त मन्त्री श्रेष्ठ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्वयम्भू र हनुमानढोका जोड्ने हेरिटेज मार्ग निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमानढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउन विशेष जोड दिने बताए ।
‘मैले दुईवटा निर्णयमा हस्ताक्षर गरेको छु। एउटा उपत्यका सांस्कृतिक सम्पदाहरूको ठाउँको रूपमा चिनिन्छ । त्यसैले यो ठाउँको महत्वलाई अझ झल्काउने गरी पर्यटकलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँको सम्पदाहरू जोड्ने किसिमबाट ट्रेलहरू निर्माण गर्न अध्ययन गर्ने विषय छ। हनुमानढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँ हुन्। यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदामार्ग बनाउने भनेर धेरै काम भइसकेको छ । त्यो कामलाई प्रारम्भ गर्ने भन्ने अर्को विषय हो,’ उनले भने ।
उनले कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई उकास्न अध्ययन प्रतिवेदन तयार भइसकेको जानकारी दिँदै ती प्रतिवेदनका आधारमा सात दिनभित्र कार्यान्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको बताए।