नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको भेलाले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्ष निकालेको छ ।

आइतबार कोइरालाको सचिवालय विशालनगरमा बसेको भेलाले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि पार्टीभित्र एकता कायम राख्न सबैको भूमिका हुने भए पनि सभापति गगनकुमार थापाको जिम्मेवारी बढी रहने निष्कर्ष निकालेको हो ।

भेलापछि पूर्वसहमहामन्त्री जीवन परियारले भने, ‘हामी सबैलाई विदितै छ- विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएतापनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौँँ । अब विशेष महाधिवेशन बारे सम्मानीत सर्वोच्च अदालतको फैसला आईसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ ।’

उनले न्यायपालिकाप्रति विश्वास र निष्ठा कायमै रहे‍को पनि बताए ।

‘यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो । पार्टीको स्थापनाकालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको व्यहोरा जगजाहेर नै छ,’ उनले भने, ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र वृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढीनै जिम्मेवारी रहन्छ । यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आ-आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरुलाई आग्रह गर्दछ ।’

शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिकता दिएसँगै कोइराला समूहले आज छलफल गरेको थियो । यसअघि कोइराला समूह शेरबहादुर देउवा समूहसँग छलफल गर्दै आएको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय