अमेरिकाको ट्रम्प प्रशासनले यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित ३० लाख पृष्ठका गोप्य दस्तावेजहरू सार्वजनिक गरेपछि विश्वभरका राजनीतिक र शाही परिवारहरूमा ठूलो हलचल पैदा भएको छ।

यी फाइलहरू सार्वजनिक भएको केही समयभित्रै १० देशका १५ भन्दा बढी उच्च अधिकारीहरूले पदबाट राजीनामा दिन बाध्य भएका छन् । यस्तै विश्वका ८० भन्दा बढी शक्तिशाली व्यक्तिहरूमाथि अनुसन्धान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

अमेरिकी न्याय विभागले सार्वजनिक गरेका दस्तावेजहरूमा राजनीतिज्ञ, राजदूत, अर्बपति र शाही परिवारका सदस्यहरू सहित करिब ७०० देखि १००० प्रभावशाली व्यक्तिहरूको नाम समावेश छ।

यसको सबैभन्दा ठूलो प्रभाव युरोपमा देखिएको छ। बेलायतमा मात्रै पूर्व राजदूत पिटर मेन्डलसन र प्रधानमन्त्री कीर स्टार्मरका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीसहित तीन उच्च अधिकारीले राजीनामा दिएका छन्। त्यस्तै, स्लोभाकिया, स्वीडेन र नर्वेका कूटनीतिज्ञ तथा पूर्व मन्त्रीहरूले पनि विवादास्पद इमेल र सम्पर्कहरू बाहिरिएपछि पद त्याग गरेका छन्।
दस्तावेजहरूमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलेरी क्लिन्टन जस्ता उच्च प्रोफाइलका नामहरू विभिन्न सन्दर्भमा उल्लेख छन्। विशेषगरी ट्रम्पको नाम ३८ हजारभन्दा बढी पटक उल्लेख भएको पाइएको छ, जसमा धेरैजसो १९९० को दशकमा एपस्टिनको निजी विमानमा गरिएका यात्राका विवरणहरू छन्।

यता, माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एपस्टिनसँगको सम्बन्धमा सार्वजनिक रूपमा माफी माग्दै फाउन्डेसनको बोर्डबाट राजीनामा दिएका छन् भने बेलायती राजकुमार एन्ड्रयूमाथि नयाँ प्रमाणका आधारमा पुनः अनुसन्धान सुरु गरिएको छ।

यस खुलासाले कयौँ देशमा मानव तस्करी र यौन शोषणको संगठित सञ्जाल रहेको तथ्यलाई उजागर गरेको छ। पोल्याण्ड, लाटभिया र टर्की जस्ता देशहरूले यस प्रकरणमा संलग्नहरूको छानबिन गर्न विशेष टोलीहरू गठन गरेका छन्।

सन् २०१९ मा जेलमै रहस्यमय मृत्यु भएका एपस्टिनले बनाएको यो प्रभावशाली सञ्जालले अहिले दशकौँपछि विश्व राजनीतिमा ठूलो भूकम्प ल्याइदिएको छ। धेरैजसो देशका सरकारहरूका लागि यो कूटनीतिक र राजनीतिक रूपमा लज्जास्पद विषय बनेको छ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय