
बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच शुक्रबार वार्ता हुने।
२६ जेठ, काठमाडौं ।
काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ। काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो ।
स्थानीयको सहमतिबेगर बञ्चरेडाँडामा फोहोर फालेको भन्दै आन्दोलन भइरहेको छ । मंगलबार र बुधबार फोहोर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।
विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो । भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्षलगायत सहभागी हुने जनाइएको छ । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदै छ ।
यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो । तर, स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडा अध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।