नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताएका छन् ।
उनले संविधानलाई ट्रयाकमा फर्काउन पनि फागुन २१ गते नै निर्वाचन गर्नु अनिवार्य रहेको बताएका हुन् । फागुन २१ को निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्ने थापाले बताए ।
‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ सोमबार बिहान काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा थापाले भने, ‘फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन हुनुपर्छ ।’
महामन्त्री थापाले निर्वाचनबाट चुनिएर आउने संसद्ले विस्तारै संविधानअनुसार काम अघि बढाउने समेत बताए । महामन्त्री थापाले थपे, ‘निर्वाचनले नयाँ संसद् ल्याउँछ । अनि त्यो संसद्ले विस्तारै आफ्नो काम गर्छ ।’
चुनाव नभए देश ठूलो अनिश्चितातर्फ जाने थापाको जिकिर छ । ‘अब चुनाव भएन भने हामी फेरि ठूलो अनिश्चिततातर्फ जान सक्छौं । त्यसकारणले गर्दा इलेक्सन गर्ने कुरा आवश्यक छ’, थापाले भने ।
थापाले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए । त्यसकारण चुनावअघि नै महाधिवेशन हुनुपर्ने उनको भनाइ छ ।
थापाले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए ।
