एकीकृत समाजवादीका मन्त्री हेरफेरको जिम्मा माधव नेपाललाई।
२२ जेठ, काठमाडौं।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गर्ने अधिकार अध्यक्ष माधव नेपाललाई दिएको छ। पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै हेरफेर गर्ने वा नगर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको हो।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।
उनले भने, ‘मन्त्रीका विषयमा सामान्य छलफल भएको छ। शिर्ष नेताहरुको बीचमा छलफल भएर उहाँहरुले कति उपयुक्त ठान्नुहुन्छ, त्यही अनुसार हुन्छ। खाशगरी अध्यक्ष कमरेडले यसबारे निर्णय लिनुहुन्छ।
उनले पार्टीले आवश्यकता ठानेर जिम्मेवारी दिएको र त्यहीअनुसार फर्काउन सक्ने बताए। उनले थपे, ‘उहाँहरुको विषयमा समीक्षा हुन्छ। पार्टीले आवश्यक ठान्यो भने फिर्ता बोलाउँछ र नयाँ साथीहरुलाई जिम्मेवारी दिन्छ। यसलाई स्वभाविक रुपमा लिनुपर्छ। व्यक्तिगत स्वतन्त्रता पार्टीको हित भन्दा तल हुन्छ।’