सुपर–४ को आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध ११ रनको जित निकाल्दै पाकिस्तानले एसीसी एसिया कप–२०२५ को फाइनलमा स्थान बनाएको छ । योसँगै एसिया कपको इतिहासमै पहिलो पटक भारत र पाकिस्तान उपाधि भिड्न्तमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
भारतले यसअघि नै सुपर–४ का तीनमध्ये दुई खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको छ । भारतले सुपर–४ को तेस्रो खेलमा आज नै श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । तर, यसमा जित वा हार जे भए पनि भारतको फाइनल समीकरणमा कुनै फरक पर्ने छैन ।
बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२४ रनमात्र बनाउन सक्यो ।
जितसँगै फाइनल यात्रा तय गरेको पाकिस्तानले आइतबार उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि जित्न सकेको छैन । यसअघि दुई पटकको च्याम्पियन रहेको पाकिस्तानले दुवै संस्करण एकदिवसीय संरचनामा आयोजना हुँदा जितेको थियो ।
