हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा स्थानीय सरकारप्रति नागरिकको असन्तुष्टि चुलिएको छ। गाउँपालिकाको कार्यालयमा सामान्य प्रशासनिक सेवाका लागि पुग्ने सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारीको अनुपस्थितिका कारण सेवा प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। सिफारिस, प्रमाणीकरण, जन्मदर्ता, विवाह दर्ता, नागरिकता सिफारिसजस्ता आधारभूत सेवाका लागि समेत घण्टौं कुर्नुपर्ने र खाली हात फर्कनुपर्ने अवस्थाले स्थानीयमा आक्रोश बढ्दै गएको छ।

“हामी सिफारिस लिन वा अन्य सानो कामका लागि गाउँपालिका जाँदा न त जनप्रतिनिधि भेटिन्छन्, न कर्मचारी,” एक स्थानीय सेवाग्राहीले गुनासो गरे। “कार्यालयमा कुर्सीहरू खाली हुन्छन्, तर काम हुँदैन। जनताको करबाट तलब र भत्ता लिने, तर सेवा दिने बेलामा बेपत्ता हुने प्रवृत्तिले हामी आजित भइसकेका छौं।” उनको यो भनाइले गाउँपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

स्थानीय सरकारको मूल उद्देश्य जनतालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु हो। तर, अदानचुली गाउँपालिकामा यो उद्देश्य पूरा नभएको सेवाग्राहीको ठम्याइ छ। “हामीले तिरेको करबाट तलब खाने, तर काम नगर्ने हो भने स्थानीय सरकारको के अर्थ?” अर्का स्थानीयले प्रश्न गरे। “सेवा माग्नु हाम्रो अधिकार हो, यो कसैको दया वा कृपा होइन। तर, सानो कामका लागि पनि हामीले सुर्खेत धाउनुपर्ने अवस्था छ। यदि सबै काम सुर्खेतमै गर्नुपर्ने हो भने गाउँपालिका किन चाहियो?” यी प्रश्नहरूले स्थानीय सरकारको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन्।

कर्मचारी अभाव र प्रशासनिक कमजोरी

यो समस्याको जडमा कर्मचारी व्यवस्थापनमा देखिएको कमजोरी रहेको स्थानीयको भनाइ छ। गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरिएपछि र नयाँ कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढ्दा कार्यालयमा कर्मचारीको अभाव भएको छ। “पहिले त केही कर्मचारी थिए, काम बिस्तारै भए पनि हुन्थ्यो,” एक स्थानीयले भने, “तर अहिले त कार्यालय नै भूतबंगला जस्तो भएको छ। कर्मचारी नहुँदा सानातिना काम पनि रोकिएका छन्।”

कर्मचारी अभावले नियमित प्रशासनिक कार्यमा ढिलासुस्ती भएको र सेवाग्राही मर्कामा परेको स्पष्ट छ। जन्मदर्ता, नागरिकता सिफारिस सम्बन्धी कागजातलगायतका सेवाहरू प्रभावित भएका छन्। “हामीले सानो सिफारिसका लागि दिनभर कुर्दा पनि काम नहुने, फेरि अर्को दिन आउनुपर्ने अवस्था छ,” एक वृद्धले गुनासो गरे। “हाम्रो समय र पैसाको कुनै मूल्य छैन जस्तो व्यवहार हुन्छ।”

स्थानीयका अनुसार, कर्मचारी अभावको समस्या समाधान गर्न गाउँपालिकाले ठोस कदम चालेको देखिँदैन। करार कर्मचारीको सम्झौता रद्द गर्नुको कारण र नयाँ कर्मचारी भर्ना नगर्नुको औचित्यबारे गाउँपालिकाले स्पष्ट जवाफ नदिएको उनीहरूको गुनासो छ। “यस्तो अवस्थामा गाउँपालिकाले जनतालाई जवाफ दिनुपर्छ, एक स्थानीयले भने, ।

कर्मचारी अभावसँगै जनप्रतिनिधिको अनुपस्थितिले पनि समस्या थप जटिल बनेको छ। स्थानीयका अनुसार, गाउँपालिकाका जनप्रतिनिधिहरू कार्यालयमा नियमित उपस्थित हुँदैनन्। “हामीले जनप्रतिनिधिलाई भोट दिएर जिताएका हौं, तर उहाँहरू हाम्रो समस्या सुन्न कार्यालयमा भेटिनुहुन्न,” एक स्थानीय महिलाले गुनासो गरिन्। “यस्तो व्यवहारले हामीलाई निराश बनाएको छ।”

जनप्रतिनिधिको अनुपस्थितिले गाउँपालिकाको निर्णय प्रक्रियामा समेत ढिलाइ भएको छ।  प्रशासनिक काममा जनप्रतिनिधिको सक्रियता नहुँदा स्थानीय सरकार कमजोर बनेको स्थानीयको आरोप छ। “हामीले चुनेका जनप्रतिनिधि हाम्रा लागि काम गर्नुपर्छ, तर उहाँहरूको प्राथमिकता अरू नै छ जस्तो लाग्छ,” एक युवाले भने।

स्थानीय सरकारको औचित्यमाथि प्रश्न

स्थानीय सरकारको अवधारणा नै जनताको नजिक रहेर सेवा प्रदान गर्नु हो। तर, अदानचुली गाउँपालिकामा यो अवधारणा कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। सानातिना कामका लागि समेत जनप्रतिनिधि  भेट्न सुर्खेत धाउनुपर्ने अवस्थाले स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न उठेको छ। “हामीले गाउँमै सरकार भएको अनुभव गर्न पाएका छैनौं,” एक स्थानीयले भने, “यस्तो अवस्थामा गाउँपालिका बन्द गरेर सुर्खेतमै लगे पनि फरक पर्दैन।”

यो समस्याले स्थानीय सरकारप्रति जनताको विश्वास गुम्ने जोखिम बढाएको छ। सिफारिसका लागि दिनभर कार्यालयमा कुरेर थाक्ने युवा, र अन्य प्रशासनिक कामका लागि समय खर्च गर्नुपर्ने बाध्यताले स्थानीयको जीवन कष्टकर बनेको छ। “हामीले कर तिरेर सरकारलाई बलियो बनाएका हौं, तर हामीलाई सेवा दिने बेलामा सरकार कता हराउँछ?” एक स्थानीयले प्रश्न गरे।

समाधानको माग

स्थानीयले यो समस्याको समाधानका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन्। कर्मचारी भर्ना प्रक्रिया तत्काल सुरु गर्न, जनप्रतिनिधिलाई जवाफदेही बनाउन, र सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनीहरूले जोड दिएका छन्। “यदि काम गर्न सक्नुहुन्न भने कुर्सी खाली गर्नुस्,” एक आक्रोशित स्थानीयले भने, “जनताको धैर्यको सीमा अब सकिएको छ। हामी चुप लागेर बस्ने दिन गए।” स्थानीय सरकारलाई बलियो र प्रभावकारी बनाउन गाउँपालिकाले तत्काल कदम चाल्नु आवश्यक छ। कर्मचारी व्यवस्थापनमा सुधार, जनप्रतिनिधिको सक्रियता, र सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित नभए स्थानीय सरकारप्रतिको जनविश्वास थप कमजोर हुने निश्चित छ। सम्बन्धित निकायले यो विषयलाई गम्भीरतापूर्वक लिई तत्काल समाधानको पहल गर्नुपर्ने देखिन्छ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय