चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।

तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ ।

भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।

चिनियाँ सेनाले भूकम्पबाट घाइतेहरूको उद्धार गरिरहेको छ जसमा ३०० जना उद्धारकर्ता, मेडिकल स्टाफ र २ वटा इमरजेन्सी रेन्पोन्स टीम तैनाथ गरिएको मर्निङ पोस्टले जनाएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो। आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

यसैबीच, चीनमा आज बिहान गएको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय