चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । नेपालमा भने कुनै मानविय क्षति भएको छैन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।
तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएकोभूकम्प ले नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाडौंबासी आत्तिएर घरबाहिर निस्किएका थिए ।
काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार घाइते भएका स्युचाटार निवासी ती व्यक्तिको अस्पतालमा उपचार जारी छ ।
त्यसै गरि प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।



