अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।
उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए ।गत अक्टोबरमा मात्रै उनले आफ्नो सयौं जन्मदिन मनाएका थिए ।
उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडनले शोक व्यक्त गरेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । साथै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।
कार्टरले विश्वभर लोकतन्त्र र मानवअधिकारको संरक्षणको पहल गर्दै कार्टर सेन्टर स्थापना गरेका थिए।उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए ।
कुनैबेला बदाम खेती गर्ने किसान रहेका कार्टरले भियतनाम युद्धमा सहभागी हुन अस्वीकार गर्ने अमेरिकी युवाहरूलाई माफी दिएका उनी जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने पहिलो अमेरिकी नेता थिए।
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन् ।पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्य वेक्षणका लागि नेपाल भ्रमण गरेका थिए ।



