दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा १७९ यात्रुको मृत्यु भएको जनाईएको छ ।

जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।

१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ।

विमान दुर्घटनाको भिडिओ फुटेजहरू पनि विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको छ। जसमा जहाज चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको देखिन्छ।

ल्याण्डिङको समयमा जहाजको चक्का बाहिर ननिस्किएको विमानस्थलमा उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्।

भिडिओमा पनि जहाज चक्काबिना धावनमार्गमा चिप्लिएको दृश्य छ। तीव्र गतिमा चिप्लिँदै गरेको जहाज धावनमार्ग छेवैमा रहेको पर्खालसँग ठोक्किनेबित्तिकै आगो लागेको थियो।

सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।। उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । उद्धार गरिएका २ जनाबाहेक अरू सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उधृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जनाएको हो।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय