गएको मंसिर १५ गते देखी सुरु भएको नेपाल प्रिमियर लिग एनपीएल पहिलो संस्करणको उपाधिका लागी आज अन्तिम खेल हुँदै छ ।
उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।
एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो। अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्।
एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।
सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो।
दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै ८ विकेटले पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तान आसिफ शेखले गर्नेछन् । नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन् ।
सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ । यसअघि भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । जनकपुर भने सुदूरपश्चिमलाई फाइनलमा हराउँदै यसअघिका दुई हारको बदला लिन चाहन्छ ।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
