पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।
काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।पीएल सिंह २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनकै पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
८८ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनको गएराति १ बजे .ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा निधन भएको थियो ।
पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए। पछिल्लो समय भने उनले कांग्रेस परित्याग गरेका थिए।
उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ ।
