बलिउड अभिनेता तथा शिवसेना (शिन्दे गुट)का नेता गोविन्दाको आफ्नै गल्तीले खुट्टामा गोली लागेको छ । उनको आफ्नै रिभल्वरबाट गोली लागेको हो । त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको थियो ।
गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्वर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, मंगलबार बिहान करिब ५ बजेकाे समयमा उक्त घटना घटेको हो ।
गोविन्दाका प्रबन्धक शशि सिन्हाले एएनआईलाई बताएअनुसार अभिनेता तथा शिवसेना नेता गोविन्दा कोलकाता जाने तयारीमा थिए।
उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर कभरमा राख्दै गर्दा उनको हातबाट रिभल्भर चिप्लिएर मिस फायरको कारण गोली उनको खुट्टामा लागेको थियो।
चिकित्सकले उनको खुट्टाबाट गोली निकालेका छन् । अहिले उनी पूर्णतया स्वस्थ छन् । तर, अझै अस्पतालमा छन् ।