माहाकालीमा बाढी: सयौं घर डुबानमा
२ कार्तिक २०७८ काठमाडौं
हिजो साँझदेखि परेको अविरल वर्षाले महाकाली नदीमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छन् भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऐरी १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।
स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदीमा अहिलेसम्मको उच्च बाढी आएको हो । महाकाली नदीमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको वहाब मापन गरिएको छ ।
दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकाले महाकाली नदीमा पानीको वहाब अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कञ्चनपुर प्रशासनले अनुरोध गरेको छ।
पुल आयोजनादेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु गरेको महाकाली पुल आयोजना ईन्जिनियर किशोर पाण्डेले बताए महाकालीमा पानीको वहाब अहिलेसम्मकै उच्च रहेको भन्दै पाण्डेयले वहाब कम नभए कालोपत्रे सडक पुरै भत्काउने अवस्थामा रहेको बताए।
ईन्जिनियर पाण्डेले आयोजनाको अस्फाक प्लान्ट एरिया र क्याम्पमा समेत बाढी पसेको बताए । उनले क्याम्पमा रहेका सामाग्रीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको बताए ।
भिमदत्त नगरपालिकामा करिब २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिए । उनले उद्दार गरिएकालाई जनता प्राथमिक विद्यालय ऐरीघाटमा राखिएको बताए ।