
संसद बैठक फागुन २ सम्मका लागि स्थगित।
२५ माघ २०७८, काठमाडौं।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद चुलिएका बेला सरकारको अनुरोधपछि दोस्रो पटक संसद्को बैठकको मिति पर सारिएको छ ।
बुधवारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सरकारको अनुरोधमा फागुन २ गतेसम्मका लागि सरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
एमसीसीका उच्च अधिकारीहरूलाई उद्धृत गर्दै केही दिनअघि मात्रै आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेसम्म संसद्बाट अनुमोदन नभए झन्डै ६० अर्ब रूपियाँ बराबरको सहयता रकम अमेरिकाले फिर्ता लैजाने चेतावनी दिएका विवरण आएका छन् ।
यसअघि कोभिड-१९ सङ्क्रमणको जोखिम देखाउँदै माघ १६ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागि स्थगित भएको थियो ।