सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका वडा नम्बर १  अम्बाथानमा रहेको मेलम्ची खानेपानीको मुहान क्षेत्र सारिने भएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले मेलम्चीको हेडवर्क्स सार्ने बताएका हुन्। अहिले भइरहेको बाँध क्षेत्र २०७८ असार १, साउन १६ र १७ गतेको बाढीले पुरेको अवस्थामा छ।

बाँध क्षेत्रको भेलबाढीले पुरिएको १ र १९ नम्बर ढोका खोतलेर काठमाडौंमा अस्थायीरूपमा पानी ल्याइ राखिएको छ। यद्यपि वर्षायाममा खोलाको लेदो पस्ने र सुरूङमा क्षति पुर्‍याउने भएकाले मनसुन सुरू हुनासाथ पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी आयोजनाले बताएको छ।

गत वर्ष असार ८ गतदेखि काठमाडौंमा पानी पथान्तरण रोकिएको थियो। र, माघ १ गतेबाट मात्रै काठमाडौंमा पानी पठाउन सुरू गरिएको थियो। मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंकले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथली क्षेत्रमा बाँध सार्न सुझाव दिएको छ।  सरकारले त्यसबारे इन्जिनियरिङ अध्ययन संस्थानलाई रायसहितको सुझाव पेश गर्न जिम्मा दिएको थियो। इन्जिनिरिङ संस्थानले पनि प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले पनि बाँध सार्ने गरी बजेटमा नीतिगत व्यवस्था गरेको हो।

केही दिनमै बाँध सार्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने खानेपानी मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिएका छन्।

‘मेलम्ची खानेपानी आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न इन्टेकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने छ,’ अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणका क्रममा भने।

त्यस्तै सरकारले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने पनि बजेटमा उल्लेख गरेको छ। मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भु, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मण्डिखाटार र चाबहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न गरी खानेपानी वितरण गरिने पनि बजेटमा उल्लेख छ।

सरकारले आगामी आर्थिक वर्षका लागि मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट छुट्याएको छ।

मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म कति भयो खर्च?
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मेलम्ची खानेपानी आयोजना २०५५/०५६ देखि सुरू भइरहेको छ। मेलम्ची खानेपानी परियोजनाअन्तर्गत दुई चरणमा काम भइरहेको छ। पहिलो चरणमा पहुँच मार्ग, सुरूङ, बाँध क्षेत्र

लगायतको काम भइरहेको छ। झन्डै एक अर्ब लागतमा निर्माण भएको बाँध क्षेत्र बाढीले तहसनहस बनाएको छ।

पुरिएको बाँध क्षेत्रमाथि पहिरो खसेकाले एसियाली विकास बैंकले सर्कथलीमा सार्न सुझाव दिएको हो।

मेलम्ची खानेपानी आयोजनाले बाँध सार्नका लागि झन्डै चार अर्ब रुपैयाँ लाग्ने प्रस्ताव गरेको छ। एक किलोमिटर सुरूङ, पहुँच मार्ग र बाँध क्षेत्र निर्माणका लागि उक्त रकम प्रस्ताव गरिएको  हो।

मेलम्ची खानेपानीको सुरूङ, पहुँचमार्ग निर्माण र मुआब्जा वितरणमा अहिलेसम्म ३१ अर्ब ३४ करोड ९ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ।

मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण गर्ने यो परियोजनाको लागत ३५ अर्ब ५४ करोड अनुमान गरिएकामा पहिलो चरणअन्तर्गत सञ्चालित क्रियाकलापहरूमा यो वर्षसम्मको भौतिक प्रगति ९९ प्रतिशत रहेको महालेखाले जनाएको छ।

आर्थिक वर्ष २०६५/६६ देखि मेलम्ची खानेपानी उपआयोजना–२ सञ्चालित छ। यसले काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्ने काम गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो काम गरिरहेको हो।

यस उपआयोजनामा अहिलेसम्म ३७ अर्ब २८ करोड ५४ लाख खर्च भएको छ।

यस उपआयोजनामार्फत् थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर काम सक्नुपर्नेमा अहिलेसम्म ७९.२२ किलोमिटर अर्थात् ७७.२४ प्रतिशत काम सकिएको छ।

त्यस्तै वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात् ९०.१२ किलोमिटर काम भएको महालेखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय