इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । इरानले इजरायलका तेल अभिभ र जेरुसेलममा २०० भन्दा बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणपछि इजरायलमा तनावको स्थिति पैदा भएको छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । यद्यपि इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेको उनको दाबी छ ।
गत अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । सो आक्रमणबाट सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो ।
सो क्रममा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत मारिएका थिए ।
त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो । सोहीअनरुप शनिवार राति स्थानीय समयअनुसार १ः४५ बजे इरानले इजरायलमा आक्रमण गरेको हो ।
इरानले पठाएका केही ड्रोन आइतवार बिहानसम्म पनि इजरायली आकाशमा उडिरहेको बताइएको छ ।
गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता मध्यपूर्वमा तनाब छ । गाजामा युद्ध जारी छ । यसमो इरान पनि संग्लग्न भएसँगै यसले झनै उग्ररुप लिने संकेत देखिएको छ ।
