भ्लादिमिर पुटिन पाँचौं पटक रूसको राष्ट्रपति बन्ने निश्चित थियो । जुन राजनीतिक परिवेश र परिस्थितिमा चुनाव हुँदै थियो, उनले जित्नेमा कुनै दुविधा थिएन । संसारभरका सबैजसो राजनीतिक विश्लेषक, रुसी मामिलाका जानकार तथा सञ्चारमाध्यमले मतदानअघि नै पुटिनको जीत सुनिश्चित ठानिसकेका थिए ।
पुटिनको विपक्षमा विश्वसनीयता एक जना पनि उम्मेदवार थिएन । पुटिन शासनकालमा दर्जनौं विपक्षी नेता मारिए, जेल परे र कति निर्वासित भए । पुटिनसँग चुनाव लड्न चाहने केही उम्मेदवारलाई निर्वाचन आयोगले अनुमोदन दिएको थिएन ।
गत महिना मात्र पुटिनका सबैभन्दा ठूला राजनीतिक प्रतिद्वन्द्वी तथा आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु भएको थियो । उनका अन्य धेरै विरोधीहरू जेलमा वा विदेशमा निर्वासनमा छन् । ७१ वर्षीय पुटिनले कुनै पनि किसिमको विपक्षीलाई उभिने मौका दिएका छैनन् ।
पुटिनबाहेक कुनै पनि उम्मेदवारले ५ प्रतिशत मत कटाउन सकेनन् । दोस्रो स्थान हासिल गरेका कम्युनिष्ट उम्मेदवारले ४.३१ प्रतिशत मत पाए भने दानास्कोभले ३.७९ र स्लुत्स्कीले ३.१९ प्रतिशत मत पाए ।
७४.२२ प्रतिशत मतदान भएको निर्वाचनमा पुटिनले भने एक्लै ८७.३४ प्रतिशत मत पाए । अघिल्लो निर्वाचनमा उनले ७८ प्रतिशत मत पाएका थिए । यसपटक झन्डै १० प्रतिशत बढी पाए । राष्ट्रपतिका उम्मेदवारले पुटिनले पाएको मत अहिलेसम्मकै धेरै हो ।
अहिले निर्वाचित ६ वर्षको कार्यकाल पूरा गर्दा उनको शासनकाल ३० वर्षभन्दा धेरै हुनेछ । सोभियत शासनकालमा जोसेफ स्टालिनको शासन करिब ३० वर्षको थियो । पुटिन ७१ वर्षका छन् । पुन: विजयी भएसँगै पुटिनले थप ६ वर्ष राष्ट्रपति पदमा रहने पक्का गरेका छन् र यसरी उनी रुसको २०० वर्षमा सबैभन्दा लामो समय शासन गर्ने शासक बन्न लागेका छन् । यो कार्यकालसँगै उनले जोसेफ स्टालिनको सबैभन्दा लामो शासनको कीर्तिमान पनि तोड्ने छन् ।
पुटिनलाई सन् १९९९ मा पहिलोपटक तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री नियुक्त गरेका थिए । यल्तसिनको मृत्यु हुँदा उनले कार्यवाहक राष्ट्रपतिको भूमिका गर्ने अवसर पाए । त्यसपछि उनले कहिल्यै सत्ताबाट विमुख हुनुपरेन ।
राष्ट्रपति चुनाव पुन: जितेपछि पुटिनले राष्ट्रपतीय निर्वाचनमा अभिव्यक्त भएको जनमतबाट युद्ध जनअनुमोदित भएको बताए । रुसको लोकतन्त्र धेरै पश्चिमी देशको लोकतन्त्रभन्दा बलियो भएको बताए ।
पश्चिमी देशहरूद्वारा चुनावको निन्दा
तर, पश्चिमी देशहरूले रूसको चुनावको निन्दा गर्दै भनेका छन्, ‘यी चुनावहरू न त स्वतन्त्र न त निष्पक्ष थिए ।’ जर्मनीले यस चुनावलाई सेन्सरशिप, दमन र हिंसाबीचको ‘नक्कली चुनाव’ भनेको छ।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रुसको निर्वाचनको निन्दा गर्दै ‘युक्रेनको भूमिमा गैरकानूनी रूपमा चुनाव गराइएको’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘रुसी तानाशाहको अर्को चुनाव’ भनेका छन् ।
रसियामा तीन दिन र रुसले कब्जा गरेको युक्रेनी क्षेत्रहरूमा अझ लामो समयसम्म चुनाव चल्यो। जनतालाई घरबाट निकालेर निर्वाचनमा सहभागी हुन मनाउने प्रयास थियो ।
आइतबार रुसको कब्जामा रहेको बर्दियान्स्क सहरमा निर्वाचन आयोगका एक अधिकारीको मृत्यु भएको खबर बाहिर आएको थियो । रुसका समर्थकहरू सेनाका साथमा मतपेटिका लिएर जनताको घरघरमा गएर भोट लिएको स्थानीयले बताएका छन् ।
तर, जब नतिजा आयो, रुसी टिभी च्यानलहरूले पुटिनको विजयलाई ठूलो जीत घोषणा गरे । रुसी च्यानलका एक पत्रकारले भने, ‘यो भ्लादिमिर पुटिनको लागि ठूलो समर्थन र पश्चिमी देशहरूलाई ठूलो सन्देश हो ।’
विजयपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले रुसी राष्ट्रपति अभियानको प्रशंसा गर्दै यो अमेरिकाको भन्दा राम्रो भएको बताए । उनले भने, ‘यो पारदर्शी र बिल्कुल सही छ । अमेरिकाजस्तो होइन जहाँ १० डलरमा भोट किन्न सकिन्छ।’
स्वतन्त्र वाचडग गोलोजलाई मतदान प्रक्रियाको पर्यवेक्षण गर्नबाट रोक लगाइएको थियो। तर, धेरै रिपोर्टहरू बाहिर आएका छन् जसमा चुनावमा अनियमितता भएको भनिएको छ । सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीलाई मतदान केन्द्रमा गएर वा अनलाइन भोटिङ गरेर मतदानमा सहभागी हुन दबाब परेको तर, उनीहरूले भोट हाल्नै पर्ने दबाब रहेको समेत बताइएको छ ।
युलिया नाभेलनाया बर्लिनस्थित रुसी दूतावासबाहिर ६ घण्टासम्म उभिएर विरोध मतदानमा सहभागी भइन् । उनले मतपत्रमा श्रीमान् नवल्नीको नाम लेखेको बताइन् ।
पाँचौं कार्यकालका लागि लाखौं मानिसले पुटिनलाई भोट दिए किनभने तिनीहरूसँग कुनै विकल्प थिएन । यसको सबैभन्दा ठूलो कारण यो हो कि क्रेमलिनले कुनै पनि विश्वसनीय प्रतिद्वन्द्वीलाई उम्मेदवार बनाएन । पुटिनका विरोधीहरू या त जेलमा छन् वा निर्वासनमा बाँचिरहेका छन् ।
‘युक्रेनमा सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने
सन् २०२२ फेब्रूअरीमा सुरू भएको रुस-युक्रेन युद्ध दुई वर्षभन्दा धेरै लामो भइसकेको छ । युद्ध अन्त्य हुने अहिलेसम्म कुनै सङ्केत देखिएको छैन । निर्वाचनपछि पुटिनलाई यूक्रेन युद्ध जारी राख्न झनै सजिलो भएको छ । अहिले रुसी वार्षिक बजेटको ४३ प्रतिशत रकम युद्ध र सैन्य क्षेत्रमा खर्च भइरहेको छ ।
पुटिनले सेनालाई बलियो बनाउने र ‘युक्रेनमा रुसको विशेष सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने बताएका छन् । आफूले चुनाव जितेपछि बोलेका पुटिनले प्राप्त नतिजाले रुसको हालको कदमप्रति जनताको विश्वास प्रस्तुत गरेको बताए । उनले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताए ।
