भ्रष्टाचार मुद्दामा चार दिन अघि मात्रै सफाइ पाएका धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादव र उपप्रमुख शीलादेवी कापरविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूका साथै प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादवसहित ९ जनाविरुद्ध सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा स्यानेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरेको तथा गुणस्तरयुक्त नभएको सेनिटरी सामग्री खरिद गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ ।​

शःशर्त अनुदानतर्फको सेनिटरी प्याड खरिदको लागि मिति २०७७ फागुन १९ मा रेजा टूडे दैनिक पत्रिकाका प्रकाशकसमेत रहेका रेजा ट्रेडिङ्ग प्रालिसँग खरिद सम्झौता भएको थियो।

उक्त खरिद सम्झौता गर्नु अघि नै २०७७ फागुन १३ गते भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।​

शिलबन्दी दरभाउ पत्र आह्वानको सूचनामा सेनिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले सेनिटरी प्याड आपूर्ति गरेको पाइएको छ ।​​

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २०७७ माघ २२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएकोले रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानूनको प्रावधानविपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता गरी १३ लाख ९३ हजार ६८७ रुपैयाँ भुक्तानी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय