संघीय र प्रदेश सरकार मात्र नभएर महानगरपालिकाहरूको समेत विकास निर्माण र पुँजीगत खर्चमा सुस्तता देखिएको छ । अन्तरसरकारी निकाय समन्वय अभावका लागि धेरै निकाय नै नहुने, स–साना रकमबाट काम हुने भएकाले सार्वजनिक खरिद कानुनको उल्झन कम हुने, तत्काल निर्णय गर्न सक्ने पदाधिकारी आफैं र काम गर्नुपर्ने दायरासमेत सीमित भए पनि महानगरपालिकाहरूको पुँजीगत खर्चको प्रगति झन् निराशाजनक देखिएको हो ।

चालु आर्थिक वर्षको माघसम्मको सात महिनामा ६ महानगरपालिकाको औसत पुँजीगत खर्च २६.३५ प्रतिशत मात्र छ । महानगरपालिकाहरूमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याएको काठमाडौं महानगरको पुँजीगत खर्च १४.११ प्रतिशत छ । काठमाडौंपछि सबैभन्दा कम खर्च गर्नेमा भरतपुर महानगर छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ । सबैभन्दा बढी पुँजीगत खर्च गर्ने वीरगन्ज महानगरको ३४.३१ प्रतिशत छ ।

वीरगन्जकै हाराहारीमा विराटनगरले पनि विनियोजितको तुलनामा ३४.१५ प्रतिशत खर्च गरेको छ । ललितपुर महानगरपालिकाको पुँजीगत खर्च भने करिब ३३ प्रतिशत भएको देखिन्छ । पोखरा महानगरपालिकाको २५ प्रतिशतमा सीमित छ । महानगरपालिकाहरूको पनि वर्षान्तको अन्त्यमै बढी खर्च गर्ने प्रवृत्ति देखिन्छ ।

प्राप्त तथ्यांकअनुसार काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि १५ अर्ब ६ करोड ५० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा साउनदेखि माघसम्म २ अर्ब १२ करोड २५ लाख रुपैयाँ मात्रै खर्चिन सकेको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर जेठपछि मात्रै वास्तविक खर्च देखिने बताउँछन् । ‘वास्तविक खर्च जेठदेखि मात्रै हुन्छ, ठूला योजनाहरूमा र पूर्वाधारको खर्च जेठपछि मात्रै हुन्छ,’ उनले भने, ‘हरेक आयोजना पूरा हुन ८ देखि ९ महिना लाग्छ । असारमा बजेट बनाउँछौं, कामको निर्देशन असोजतिर मात्रै हुन्छ । जेठतिर मात्रै काम सम्पन्न हुन्छ ।’ मानन्धरले भनेजस्तै संघीय सरकार र प्रदेश सरकारले समेत यस्तै बहाना बनाउँदै वर्षौंदेखि कम खर्च गर्दै आएका छन् ।

३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ विकास बजेट विनियोजन गरेको भरतपुरले चालु सात महिनामा ६६ करोड ७२ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । पोखरा महानगरले ३ अर्ब ८६ करोड ६० लाख पुँजीगत बजेट विनियोजन गरेकोमध्ये ९६ करोड ४५ लाख रुपैयाँ मात्रै खर्चिएको छ, जुन २४.९५ प्रतिशत मात्र हो । विराटनगर महानगरपालिकाले १ अर्ब २६ करोड ८० लाख विनियोजन गरेकोमध्ये ३४.१५ प्रतिशत मात्र खर्च गरेको छ । वीरगन्ज महानगरको पुँजीगत खर्च ३४.३१ प्रतिशत छ । वीरगन्जले ७९ करोड २८ लाख विनियोजित बजेटमध्ये २७ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।

पालिकाहरूको पुँजीगत खर्च कम हुनुमा संघीय सरकारको दोष देख्छन्, पूर्वअर्थ सचिव रामेश्वर खनाल । संघीय सरकारको तुलनामा पालिकाले केही मात्रामा भए पनि बढी नै पुँजीगत खर्च गरेको देखिएको भन्दै खनालले पालिकाको भन्दा संघीय सरकारकै दोष हुने बताए । स्वायत्तता दिन नसकेको/नचाहेको, संघीय सरकारको असहयोगका कारणले पनि पुँजीगत खर्च कम भएको उनको भनाइ छ । ‘धेरै ठाउँ प्रमुख प्रशासकीय अधिकृत समयमा पठाउँदैनन्,’ उनले भने, ‘इन्जिनियरको संख्या पनि न्यून छ । समयमा पदपूर्ति हुँदैन । प्रदेश लोक सेवा आयोगलाई जिम्मा दिइएकाले स्थानीय तहलाई नै नियुक्ति गर्ने स्वतन्त्रता छैन ।’

पूर्वकार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई खत्रीले अहिले जति पुँजीगत खर्च देखाए पनि आर्थिक वर्ष सकिँदासम्म हरेक पालिकाले ५० प्रतिशतभन्दा बढी नै खर्च गरेको तथ्यांक सार्वजनिक गर्ने बताउँदै भने, ‘केन्द्र, प्रदेश वा पालिका सबैले आर्थिक वर्षको अन्तिममा पुँजीगत खर्च ५० देखि ६० प्रतिशत नै देखाउँछ । असारमा धेरै खर्च हुन्छ । संघीय सरकारको पनि असारमा मात्रै २०–२१ प्रतिशत खर्च हुन्छ । पालिकाहरूले पनि त्यसैलाई अनुसरण गरेको छ ।’

ठेक्का ढिला लाग्ने, आफ्नोलाई ठेक्कालगायत विभिन्न योजना तथा योजनाका नाममा असारसम्म पालिकाले पनि आफ्नो बजेट खर्च गर्ने गरेको उनको भनाइ छ । प्रमुख, उपप्रमुख, वडा र पालिकाहरूमा कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय अभाव पनि अर्को कारण रहेको उनले बताए । ‘एउटै दलको भने मिलेर गर्छन्, फरक दलका छन् भने यसो त्यसो भन्दै समय जान्छ, कम खर्च हुन्छ,’ उनले भने । असारमा बजेट ल्याए पनि दसैंतिहारपछि मात्रै ठेक्का लाग्ने, उपभोक्ता समिति बनाउने, भुक्तानीको बेलामा मात्रै अनुगमन गर्ने प्रवृत्ति र असारे विकासलाई मात्र जोड दिइने गरेको उनको भनाइ छ । भने, ‘दुई वर्षअघिसम्म प्रदेश स्थानीय तहमा ९६ हजार आयोजना सञ्चालनमा छन् । त्यसका ठेक्कापट्टा, जाँचपास, डिजाइन, इस्टिमेट, कार्यसम्पन्न, हस्तान्तरणलगायत प्राविधिक पक्ष छन्, अझै पनि ती आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । त्यसमध्ये आधा वा एक तिहाइ मात्र सम्पन्न भएको छ । कार्यसम्पन्न नभएर प्राविधिक रूपमा हुन सकेको छैन । त्यसैले पुँजीगत खर्च त्यहाँ पनि अड्किएको छ ।’

सात महिनाको चालु खर्च पनि ५० प्रतिशतभन्दा कम भएकाले महानगरपालिकाहरूको उल्लेख्य प्रगति देखिँदैन । ६ वटा महानगरमध्ये सबैभन्दा कम चालु खर्च गर्नेमा काठमाडौं छ भने सबैभन्दा बढी खर्च गर्नेमा ललितपुर छ । काठमाडौं महानगरको चालु खर्च ३१ प्रतिशत मात्रै छ । चालु आवका लागि ८ अर्ब ९७ करोड ६ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये २ अर्ब ७८ करोड ६ लाख मात्रै खर्चिएको महानगरको तथ्यांक छ । चालु आवको माघसम्ममा सबैभन्दा बढी चालु खर्च गर्ने ललितपुर महानगर छ । ललितपुरले सात महिनाको अवधिमा ४४.३४ प्रतिशत चालु खर्च गरेको हो । जसले चालु खर्चका लागि १ अर्ब ९० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये ८४ करोड २६ लाख रुपैयाँ मात्रै खर्चिएको हो ।

विराटनगर महानगरको चालु खर्च ४४.३१ प्रतिशत छ । चालु आवका लागि १ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ६८ करोड ६२ लाख मात्रै खर्चिएको छ । भरतपुर महानगरको चालु खर्च ३९.४६ प्रतिशत छ । भरतपुरले विनियोजन गरेकोमध्ये १ अर्ब ६ करोड १७ लाख रुपैयाँ खर्च गरेको छ । महानगरले चालु आवको २ अर्ब ६९ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पोखरा महानगरको चालु खर्च ४० प्रतिशत छ । यस महानगरले चालु बजेट ३ अर्ब २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेमध्ये १ अर्ब ३१ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । वीरगन्ज महानगरको चालु खर्च ३८.४८ प्रतिशत छ । महानगरले २ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेमध्ये ९१ करोड ७४ लाख रुपैयाँ मात्रै खर्चिएको छ । मुलुकभरका ६ वटा महानगरपालिकाले चालु खर्चका लागि भन्दै २० अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ७ अर्ब ६० करोड ६६ लाख रुपैयाँ मात्रै खर्चिएको छ । महानगरपालिकाहरूले उपलब्ध गराएको तथ्यांकअनुसार यस्तो देखिएको हो ।

पालिकाहरूले स्वतन्त्र ढंगले काम गर्न नपाएकै कारण पनि खर्च कम भएको पूर्वअर्थ सचिव खनालले बताए । ‘संघले दिने बजेट ससर्त अनुदानअन्तर्गत पालिकामा जान्छ । उक्त बजेट कोष तथा लेखा नियन्त्रक (कोलनिका) ले निकासा गर्छ । कोलनिकाले विभिन्न अड्चन देखाएर निकासामा ढिलाइ गर्छ,’ उनले भने, ‘सर्सत अनुदानको ठाउँमा वित्तीय समानीकरण अनुदानबाट दिने हो भने पालिकाले अझै धेरै खर्च गर्न सक्थ्यो ।’ यसरी पालिकालाई विश्वास नगर्ने यस्ता बुँदालाई पनि परिमार्जन गर्न जरुरी रहेको उनले सुनाए । यदि संघीय सरकारले यति गर्दा पनि पुँजीगत खर्च बढेन भने पालिकाहरू जिम्मेवार हुने उनको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय