नेकपा एमाले सुर्खेतमा आन्तरिक विवाद झनझन बढ्दै गइरहेको छ । बुधबार जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रेस विज्ञप्ति जारी गर्दै नवौँ अधिवेशन स्थगित भएको जानकारी गराए । तर, बिहीबार अन्य पदाधिकारीहरूले बिसीको उक्त निर्णय व्यक्तिगत रहेको ठहर गर्दै अधिवेशन तोकिएकै मितिमा हुने जानकारी गरायो ।
उक्त बैठक जिल्लाका उपाध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा बसेको थियो भने सचिव कवीन्द्र कुमार केसीद्वारा हस्ताक्षर गरी अधिवेशन तोकिएकै मितिमा हुने भनेर विज्ञप्ति जारी भयो । अहिले जिल्लाको पदाधिकारीमा अध्यक्ष बिसी एकातिर र अरू पदाधिकारी अर्कोतिर भएपछि विवाद भइरहेको छ । बिसी जिल्लामा नवराज रावत खेमा र प्रदेशमा गोरख बोगटी खेमामा छन् भने बाँकी पदाधिकारीहरू यामलाल कँडेल खेमाका हुन् ।
बिहीबार उपाध्यक्षको अध्यक्षतामा बैठक बसेको विषयमा आक्रोशित हुँदै अध्यक्ष बिसीले सामाजिक सञ्जालबाट नै काउन्टर जवाफ दिएका छन् । एमालेको वैधानिक व्यवस्था अनुसार अध्यक्षको उपस्थितबिना, सहमतिबिना बसिएको बैठक र गरिएका निर्णयहरू कार्यान्वयन नहुने चेतावनी बिसीले दिएका छन् । यदि कार्यान्वयन गर्न खोजिए पनि त्यस्ता कार्यले वैधानिकता नपाउने उनको भनाइ छ ।
