एनसेलको सेयर बिक्री प्रकरणबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिका संयोजक बेलायत पुगेर फर्किएका छन् । मलेसियन कम्पनी आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई न्यून मूल्यमा कम्पनीको ८० प्रतिशत सेयर बेचेपछि यसबारे छानबिन गर्न गठित समितिका संयोजक नै बेलायत पुगेर फर्किएका हुन् ।
नेपालको नियामकीय निकायलाई जानकारी नै नदिएर न्यून मूल्यमा ८० प्रतिशत सेयर बेचेर कर छलीको आशङ्कासहित सरकारले मङ्सिर २१ गते छानबिन समिति गठन गरेको थियो । टंकमणि शर्माको नेतृत्वमा मन्त्रीपरिषद्को बैठकले ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले पुस २४ गते भित्र छानबिनको प्रतिवेदन बुझाइसक्नुपर्ने हो । तर, छानबिनको प्रतिवेदन टुङ्गो लगाउन छाडेर संयोजक शर्मा बेलायत पुगेर फर्किएका हुन् ।
सरकारले शर्माको नेतृत्वमा गठन गरेको शक्तिशाली छानबिन समितिमा सचिव फणीन्द्र गौतम, सह–सचिवद्वय बाबुराम भण्डारी र रितेशकुमार शाक्य र आइक्यान अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिका एक सदस्यका अनुसार शर्मा पुस २२ गते बेलायत पुगेका हुन् । २२ गते बेलायत पुगेका शर्मा २७ गते नेपाल फर्किइसकेका छन् । एक महिनाको कार्यावधि पाएको समितिको काम थाती राखेर संयोजक शर्मा एनसेलको सेयर खरिदकर्ता कम्पनी दर्ता भएकै देश पुगेर आएका हुन् ।
यससँगै, समितिको काममाथि नै शङ्का उत्पन्न हुन थालेको छ । समितिकै एक सदस्यले भने, ‘बेलायतकै स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ । समितिको संयोजकको हैसियतमा बसेर बेलायत नै पुगेर आएपछि प्रतिवेदन तयार पार्ने विषयमा शङ्का उत्पन्न हुन सक्छ ।’
समितिका सदस्यले शर्मा आफ्नो नियमित कार्यक्रमका लागि पुगे पनि बेलायतकै कम्पनीमाथि भइरहेको छानबिन प्रतिवेदन आउनुअघि सोही देश पुगेर फर्किएपछि विभिन्न अड्कलबाजी सुरु भएको छ । जबकि, हालसम्म समितिले गतिलोसँग छानबिन नै अघि बढाएको छैन । शर्मा बेलायत उड्नुअघि १५ दिनको समय थप्न माग गरेका थिए । सोहीअनुसार मन्त्रीपरिषद्को बैठकले समितिको समय १५ दिन थप गरेको छ ।
मलेसियन कम्पनी आजियाटाले नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नै नदिएर एनसेलको ८० प्रतिशत सेयर बेचेको थियो । न्यून मूल्यमा सेयर बेचेपछि कर छली भएको आशंका चौतर्फीरुपमा भएको थियो । सोही आशङ्काको बिच सरकारले पूर्व महालेखा परीक्षक शर्माको नेतृत्वमा समिति बनाएको थियो ।
- समितिले के–के गर्यो काम ?
यही पुस २४ गते नै छानबिनको समय घर्किसकेको समिति एनसेलको सेयर बिक्री प्रकरणमा अझै निष्कर्षमा पुगेको छैन । सदस्यहरूका अनुसार समितिले दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक कागजात मगाएको छ । यस्तै, एनसेलबाट समेत बिक्रीको सम्झौता खुल्ने कागजात मगाइएको छ । तर, छानबिन टोलीले बिक्री प्रकरणबाट कर छली भए–नभएको निष्कर्ष निस्केको छैन ।
संयोजक शर्मा बेलायत पुगेर आइसकेको अवस्थामा अब धमाधम काम अघि बढ्ने सदस्यहरू बताउँछन् । ‘संयोजकज्यू बेलायत जानुअघि नै प्रतिवेदन बुझाउँदा हतार गरेजस्तो देखिन्थ्यो,’ एक सदस्यले रातोपाटीसँग भने, ‘त्यसैले बेलायत भ्रमण अघि प्रतिवेदन तयार नपारिएको हो ।’ यस्तै, विभिन्न निकायसँग कागजात मागेको र मागेअनुरुपमको कागजात नआएकाले समेत प्रतिवेदन तयार नभएको ती सदस्यको भनाई छ ।
