
भारतबाट फर्केका अधिकांश कोरोना सङ्क्रमित।
२९ पुष २०७८, काठमाडौं।
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण पुष्टि हुन थालेको हो ।
स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
नाकामा गरिएको परीक्षणमा बुधबार मात्रै भारतबाट फर्किएका १६८ जनामा संक्रमण पुष्टि भएको छ । मङ्गलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढिरहेको छ । उनीहरुमध्ये अधिकांश संक्रमित भइ घर फर्किने गरेको पाइएको छ ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले बताए । उनले भने, “भारतको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ, खोप अभियानलाई तीव्र पार्नुका साथै नाकामा स्वास्थ्य जाँचमा जोड दिएका छौं ।
सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत परीक्षणको काम भइरहेको छ । धेरैजसो संक्रमित सिधै घर जाँदा संक्रमणको जोखिम बढ्दै गएको हो । होम आइसोलेशनमा बस्ने बाहानामा संक्रमित सिघैँ घर जाँदा समुदायस्तरमा कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
उनले भने, “स्थानीय तहले संस्थागत आइसोलेशन बनाउन चासो देखाएका छैनन्, होम आइसोलेशनमा बस्ने भन्दै सिधै संक्रमित समुदायमै घुलमिल हुँदा जोखिम अत्यधिक छ ।” सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट हालसम्म प्रदेशमा ६१४ जनाको ज्यान गएको छ ।