
परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच टेलिफोन वार्ता।
२२ पुष २०७८, काठमाडौं।
परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्तामा उनीहरूले अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार विकास, कोरोना महामारीविरुद्धको सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
भारतमा कोरोना भाइरस संक्रमणमा वृद्धि भएपछि गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएको थियो। उक्त समिटमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार त्यसतर्फ जाने कार्यक्रम रहेको थियो। आज मात्रै उक्त कार्यक्रम स्थगित भएको सूचना आएको थियो। कार्यक्रम स्थगित भएसैँगै प्रधानमन्त्री देउवाको भ्रमण पनि रोकिएको छ।