तेस्रोपटक प्रधानमन्त्री बनेपछि भारतबाट पहिलो विदेश भ्रमण रोजेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रचण्ड शनिवार अमेरिकाबाट सिधै चीन प्रस्थान गरेका थिए । आइतबार चिनियाँ राष्ट्रपति सी जिन पिङ र सोमबार चिनियाँ प्रधानमन्त्रीसँग प्रचण्डको भेटपछि नेपाल र चीनबीच सहमतिहरु भएका हुन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भई कार्यान्वयन भइसक्दा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबारे नेपालको अन्योलता कायमै छ । चीनले भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि विभिन्न परियोजनाहरु बीआरआई अन्तर्गतकै रहेको बताइसकेको छ । अमेरिकाको एमसीसी परियोजना कार्यान्वयन शुरु भएको केही दिनपछि मात्रै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा बीआरआई अन्तर्गतका परियोजनामा हस्ताक्षर हुने दाबी कुटनीतिक मामिलाका विज्ञहरुले गरिरहेका थिए । चीन भ्रमणको पहिलो दिन नै चिनियाँ राष्ट्रपति सी जिन पिङसँगको भेटपछि दोस्रो दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न सहमति तथा सम्झौताहरु आदानप्रदान भएका छन् ।
नेपाल र चीनबीच भएका सहमतिसम्झौता
– चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर ।
– डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता ।
– हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने सम्झौता ।
– कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयमा सहमति ।
– सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा सहमति ।
– नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति ।
– प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति ।
– विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता ।
– सिजाली विद्यालय परियोजनाबारे सम्झौता ।
– मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान
– हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता
– प्रकोप सामग्री सम्बन्धी समझदारीपत्र आदान–प्रदान ।
– र, नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र आदानप्रदान ।
प्रधानमन्त्री प्रचण्डको यसअघिको दिल्ली भ्रमणका क्रममा ऊर्जा सम्बन्धमा विभिन्न सहमतिहरु भएका थिए । नेपालबाट १० वर्षमा १० हजार मेघावाट विद्युत खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका थिए । तर यस सम्बन्धीको एमओयूमा हस्ताक्षर गर्न भने बाँकी नै छ । प्रचण्डको चीन भ्रमणअघि मात्रै भारतीय मन्त्रिपरिषद्बाट विद्युत खरिद सम्बन्धी प्रस्ताव पारित गरेको छ । भारतीय मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएपछि मात्रै भारतसँग विद्युत खरिद सम्झौताको बाटो खुलेको छ । तर यहिबीचमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणको क्रममा पनि ऊर्जा तथा विद्युत ब्यापार सम्बन्धमा महत्वपूर्ण सहमित हुने बताएका थिए । तर ती सम्झौता र समझदारी पत्रमा विद्युत तथा ऊर्जा सम्बन्धनमा कुनै पनि कुराहरु उल्लेख छैनन् । प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री लि को उपस्थितिमा बेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच विभिन्न विषयमा सहमतिमा हस्ताक्षर तथा सम्झौतापत्र आदानप्रदान भएको थियो । सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
