हिमपहिरोमा परी म्याग्दीमा १ बेपत्ता, ३ अलपत्र
१५ पुष २०७८, काठमाडौं।
म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिमपातका कारण हिमपहिरो गएर भेडीगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
मोबाइल र इन्टरनेट सेवा हिमपातकै कारण अवरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको छ । ‘भेडीगोठ राखेको क्षेत्रमा हिम पहिरो गएको खबर आएको छ, अहिले नेपाली सेनाको हेलिकाेप्टरमार्फत घटनास्थलमा स्थलगत अवलोकन तथा उद्धार र खोजी गर्न पहल गरेका छौँ,’ उनले भने ।बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका छन् । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पूरै हिँड्नुपर्छ ।