किसान मलखाद नपाएर सडकमा, कृषि मन्त्री भने कार्यकर्ता भेट्न गाउँमा।
११ पुष २०७८, काठमाडौं ।
अहिले नेपालका किसानले मलखाद्य पाएका छैनन् । मलखाद्य त छोडौं आफूले उत्पादन गरेको कृषिवस्तुको उचित मूल्य पनि पाइरहेका छैनन् ।
यसरी कृषकहरु मारमा परेका बेला कृषि तथा पशुपन्छी मन्त्री भने गाउँतिर घुम्दै हिँडेका छन् । जनताको अधिकारका लागि भनेर आन्दोलन गरेर सरकारमा आएका जसपाका वरिष्ठ नेतासमेत रहेका महेन्द्रराय यादवले किसानको समस्यामा आँखा चिम्लिएका छन् ।
खासगरी तराई मधेसका किसानहरु अहिले मर्कामा परेका बेला मधेसबाट उदाएका नेता यादवले मन्त्री बनेपछि किसानलाई चटक्क बिर्सिएका छन् । जसका कारण किसानहरु आन्दोलित भएका छन् । सडकमा उत्रिएका छन् ।
आइतबार पनि तराईमा किसानहरुको समस्या समाधानको माग गर्दै जनमत पार्टी र किसान आन्दोलन संघर्ष समितिले घोषणा गरेको आमहडताल गरेका छन् । हड्तालका कारण पूर्वपश्चिम राजमार्गको सिरहा खण्ड बिहानैदेखि अबरूद्ध हुनुका साथै बजारहरु बन्द रहेका छन् ।
किसानहरुले आवश्यक मलखाद्य र बिउको माग गरेका छन् । किसानमाथिको दमन बन्द, मुद्दा फिर्ता गर्न पनि माग गरेका छन्। प्राय गरी मन्त्री कार्यक्रम मै हुन्छन्। उनको कार्यक्रमले मन्त्रालयको काम पनि प्रभावित भएको छ । किसानको समस्या समाधान गर्नेभन्दा पनि आफ्नो दुनो सोझ्याउने, कार्यक्रम मोह देखाउने जस्तो गैरजिम्मेवार हर्कतमा यादव लागेका छन् ।