मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दैविक प्रकोपका घटना मधेश प्रदेशमा बढी रहेको बताएका छन् । मधेश प्रदेश विपद व्यवस्थापन समितिले रौतहटको नुनथरस्थित बागमती नदीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि यादवले दैविक प्रकोपबाट सबै प्रदेशभन्दा बढी मधेश प्रदेशका जनता बढी पीडित भएको बताए ।
उनले भने, ‘मधेश प्रदेशमा गर्मीमा लु लागेर, जाडोमा शित लहरबाट र वर्षातमा बाढी, डुब्बान र कटानबाट वर्षेनी ठूलो नोक्सानी व्यहोर्दै आएका छन् ।’
मधेश प्रदेश स्तरीय बाढी तथा विपत उद्दार अभ्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले कोशी, कमला, बागमती र बकैया नदीका कारणले ठूलो जनधन तथा जग्गा, जमिन, बाली नालीमा नोक्सानी हुँदै आएको बताए ।
मुख्यमन्त्री यादवले कार्यक्रम स्थलबाटै भने, ‘हे जानकी माता, हे पशुपतिनाथ नेपाललाई विपत्तिबाट रक्षा गर्नु होस् ।’
मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रालयका सचिव ढकाललाई विपत तथा उद्दारमा सहयोग पुग्ने सामग्रीको लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न निर्देशन समेत दिए । सो अवसरमा नेपाली सेना मध्य पूर्वी पृतना हेड क्वाटर बर्दिवासका पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रहरी नायव महानिरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र साहसहित मधेश प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।



