
नेपाल बार एसोसिएसनले सञ्चार माध्यमबाट स्वतन्त्र न्यायपालिकालाई भय र त्रासको वातावरणमा राखी निर्देशित न्यायालय सञ्चालन गर्ने कुचेष्टा भएको भन्दै त्यसप्रति घोर भर्त्सना गरेको छ।
महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका एसोसिएसनको मान्यता रहेको उल्लेख गर्दै यसमाथि हुने कुनै पनि जोर-जुलुम, जबरजस्ती र अवैधानिक गतिविधिको सख्त विरोध गर्ने बताएका हुन्।
एसोसिएसनले न्यायपालिकाको सुधार वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा हुनुपर्नेमा जोड दिएको छ। देश जतिसुकै कठिन मोडमा भए पनि कानूनको शासनको आधारभूत मानक र स्वच्छ सुनुवाइसहितको मानव अधिकारको आधारभूत मापदण्डलाई बेवास्ता गर्न नमिल्ने स्मरण गराइएको छ।
विज्ञप्तिमा नेपाल प्रहरीसहित सुरक्षा निकायको मनोबल खस्कने गरी भएका हर्कतप्रति सरकार गम्भीर हुनुपर्ने भन्दै आवेश, आक्रोस र अराजकताले हिंसाको दुश्चक्र निम्त्याउने चेतावनी दिइएको छ। एसोसिएसनले दिगो शान्ति संवाद र सहकार्यबाट मात्र सम्भव रहेकाले व्यापक संवाद गर्न सरकारसँग अनुरोध गरेको छ।
एसोसिएसनले आफ्नो भवन निर्माणका लागि सर्वोच्च अदालत परिसरभित्रै जग्गा उपलब्ध गराउन पनि माग गरेको छ।