नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटिज एक्सचेञ्जलाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । बोर्डको आइबार बसेको सञ्चालक समितिको बैठकले पाँच सदस्यीय मूल्यांकन समितिको गठन गरी नयाँ एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव एवं बोर्डका सञ्चालक समिति सदस्य फणिन्द्र गौतमको नेतृत्वमा गठिन मूल्यांकन समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, नेपाल राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् ।

समितिलाई स्टक एक्सचेञ्ज र कमोडिटिज एक्सचेञ्ज सञ्चालनका लागि परेका निवेदन मूल्यांकन गर्दै सञ्चालक समितिमा प्रतिवेदन पेस गर्न भनिएको छ । यद्यपी बोर्डले समितिलाई समयसीमा तोकेको छैन् । समितिका सदस्य समेत रहेका बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले समितिलाई यथाशक्य छिटो प्रतिवेदन पेश गर्न भनेको जानकारी दिए । कारोबारसँग उनले भने,“समितिलाई यथाशक्य छिटो प्रतिवेदन पेश गर्न भनिएको छ । तर यो मितिसम्ममा प्रतिवेदन पेश गर्नु भन्ने हिसाबले समयसीमा दिइएको छैन ।”

निर्देशिकामा व्यवस्था भएबमोजिम समितिले विभिन्न कम्पनीहरूले पठाएको निवेदनमाथि मूल्यांकन गर्नेछ । मूल्यांकन सकिएपश्चात प्रतिवेदन बनाई बोर्डको सञ्चालक समितिमा समितिले पेश गर्नेछ । समितिले पेश गरेको प्रतिवेदनमा सञ्चालक समितिले फेरि मूल्यांकन गरि उपयुक्तलाई लाइसेन्स दिनेछ । यसका लागि बढीमा एक महिनासम्म लाग्न सक्ने बोर्डका अधिकारीहरू बताउँछन् । बोर्ड सञ्चालक समितिले गठन गरेको मूल्यांकन समितिले विभिन्न चार वटा विषयलाई आधार बनाएर निवेदनहरूको मूल्यांकन गर्नेछ ।

बोर्डले स्टक एक्सचेञ्ज स्थापनाका लागि निवेदन दिएका तीन कम्पनीमध्ये धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार बढी अंक प्राप्त गर्ने कम्पनीलाई अनुमति दिनेछ । मूल्यांकन समितिलाई धितोपत्र सम्बन्धी ऐन, धितोपत्र बजार संञ्चालन नियमावली, २०६४ र निर्देशिकाअनुसार बढी अंक प्राप्त गर्ने कम्पनी एकिन गरि बोर्डमा सिफारिस गर्ने अधिकार दिइएको छ ।

बोर्डले ऐन, नियमावली र वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ अनुसार निवेदन मूल्यांकन गर्दै बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्ने जिम्मेवारी मूल्यांकन समितिलाई दिएको छ । निर्देशिका अनुसार, समितिले विस्तृत व्यवसायिक कार्य योजना, पुँजी, प्रस्तावित सञ्चालकको अनुभव तथा शैक्षिक योग्यता र कारोबार प्रणाली तथा प्रबिधिलाई आधार मानेर मूल्यांकन गर्नेछ ।

यी बुँदाहरूमा अब्बल रहेका कम्पनीलाई समितिले बोर्डसमक्ष सिफारिस गर्ने छ । समितिले बोर्डलाई सिफारिस गरेपश्चात बोर्डले योग्यताक्रमको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने निवेदकलाई धितोपत्र बजार सञ्चालन गर्न संगठित संस्था स्थापना गर्न सिफारिस दिनेछ । कमोडिटी एक्सचेञ्जतर्फ नेपाल मल्टी कमोडिटी एक्सचेञ्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज, मल्टी डेरिभेटिभ एक्सचेञ्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेञ्ले बोर्डमा लाइसेन्सका लागि आवेदन दिएका छन्् ।

बोर्डले यी कम्पनीहरूमाथि मूल्यांकन गरी दुई वटालाई मात्रै लाइसेन्स दिनेछ । त्यस्तै, स्टक एक्सचेञ्जको लाइसेन्सका लागि हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडले स्टक एक्सचेञ्ज सञ्चालनका लागि लाइसेन्स माग गर्दै आवेदन दिएका छन् । यसमध्ये एकले मात्रै नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स पाउनेछन् । नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरिएको छ ।

साथै कुल चुक्ता पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्ने समेत व्यवस्था छ । व्यक्तिलाई लगानी गर्न बन्देज लगाइएकाले कम्पनीमार्फत नयाँ एक्सचेञ्जका लागि लगानी गर्नुपर्छ । एउटा कम्पनी वा एकाघर परिवारको स्वामित्व रहेको कम्पनीहरूबाट अधिकृत १५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

बोर्डले गत २६ भदौमा धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को दोस्रो संशोधन गरेको थियो । सोही नियमावली संशोधनपछि बोर्डले २ असोजमा स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीका लागि आवेदन माग गरेको थियो । तर, अधिवक्ता दीपकविक्रम मिश्रले उक्त लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै २८ असोजमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । दर्ता भएको सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले ४ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश दिँदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।

लाइसेन्सका लागि आवेदन दिने अवधि ४५ दिन भएपनि आवेदन दिने अवधि १० दिन बाँकी छँदा अदालतको आदेशपछि आवेदन रोकिएको थियो । गत चैत अन्तिम साता न्यायाधिशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासबाट सर्वोच्चले उक्त रिट खारेज गरेपछि लाइसेन्सको प्रक्रिया अगाडि बढेको थियो । रिट खारेज भएसँगै बोर्डले ३० चैतमा सूचना प्रकाशित गर्दै बाँकी रहेको १० दिनमा आवेदन दिन पुनः सूचना प्रकाशित गरेको थियो । सो अनुसार गत वैशाख १० सम्म बोर्डले आवेदन लिएको थियो भने त्यसको एक सातापछि समिति गठन गरि प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय