गत आइतवार ४७ अंक बढेको बजार त्यसपछि लगातार तीन दिन घटेको छ । बुधवार नेप्से परिसूचक शून्य दशमलव ९४ प्रतिशत अर्थात् १७ दशमलव ९३ अंक घटेर १ हजार ८७६ दशमलव ६० विन्दुमा झरेको छ । बजार घट्दा कारोबार रकमसमेत घटेको छ ।
गत आइतवार रू. २ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा बुधवार भने उक्त कारोबार रू. १ अर्बमा झरेको छ । बढेको बजारमा अल्पकालीन कारोबारीहरूले प्रोफिट बुक गरे पनि त्यसपछि लगानीकर्ता सक्रिय भएका छैनन् ।
लगानीकर्ताहरू मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेकाले अहिले बजार बढ्न नसकेको जानकारहरू बताउँछन् । बुधवार नेप्सेको कारोबार प्रणालीमा पनि प्राविधिक समस्या देखियो । यस दिन बिहान ११:२४ मा खुलेको कारोबार अपराह्न ३:२४ मा बन्द भएको थियो । यसकारण पनि आज कारोबार रकम केही घटेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८७ प्रतिशत घटेको छ ।
२८५ धितोपत्रको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर २९ हजार ८८३ पटकमा रू. १ अर्ब १ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६५७ पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ३ दशमलव ६३ प्रतिशत बढेर रू. ७ दशमलव ७० पुगेको छ ।
बुधवार सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३५५ दशमलव ४० मा झरेको छ । त्यस्तै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ०३ प्रतिशत घटेर रू. ६३५ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको रू. ६ करोड २८ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९५ दशमलव ५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको ९% एनआईसी एशिया डिबेञ्चर २०८१/८२ नामक ऋणपत्रको रू. ५ करोड ३ लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशलमव १३ प्रतिशत घटेको छ ।



