कोशी प्रदेशको संयुक्त सरकार भंग गरिनुपर्ने निष्कर्षमा नेकपा एमाले पुगेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रहेको ठहर गरेको छ । असंवैधनिक सरकार भंग गरेर नयाँ सरकार गठनको प्रक्रिया थालिनुपर्ने एमाले सचिवालय बैठकको निष्कर्ष छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै कोशी प्रदेशको नयाँ सरकार भंग गरेर नयाँ सरकार गठन गर्न माग गरेको हो ।

‘वर्तमान सत्ता गठबन्धन संविधानको उलंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्यत छ । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट गरिएको संविधानविरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ’ एमाले सचिवालय बैठकले पारित गरेको पहिलो प्रस्तावमा भनिएको छ ।

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए । सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

एमालेले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको भन्दै सभामुख दलीय आबद्धताबाट अलग हुनुपर्ने भए पनि कोशीमा सरकार गठन र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुनु संसदीय अभ्यासमाथिको हस्तक्षेप भनेको छ ।

‘अवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ’ एमालेको ६ बुँदे प्रस्तावको पहिलो नम्बरमा भनिएको छ ।

कोशी प्रदेश सरकार गठनको विरुद्ध एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । कार्कीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नयाँ मन्त्रीमण्डललाई दिर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न आदेश दिएको थियो ।

कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो । रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेसी तोकिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । साउन ७ गतेदेखि मुद्दाको निरन्तर सुनुवाइ हुने आदेशमा उल्लेख छ ।

कार्की ले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन् । यसअघि नै कोशी प्रदेशको नयाँ सरकार गठन प्रक्रियालाई लिएर संघीय संसद्मा पनि आलोचना भएको थियो । यही बेला एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रहेको ठहर गर्दै सरकार भंग गरेर नयाँ सरकार गठनको प्रक्रिया थालिनुपर्ने निष्कर्ष निकालेको हो । Source:Madhyanha

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय