संघीय सरकारको गठबन्धन अनुसार ६ प्रदेशमा सरकार र मुख्यमन्त्री परिर्वतन भए । तर, अंक गणितका कारण कोशी प्रदेशमा सरकार बदलिएको छैन् । नयाँ सरकार बनाउन कांग्रेस, माओवादी केन्द्रको गठबन्धनले नयाँ सरकार बनाउन राप्रपाको समर्थन खोजेको छ । कांग्रेस र माओवादीले केन्द्रले आफूहरुको गठबन्धनमा सहभागी भए अन्तिम एक वर्ष मुख्यमन्त्री दिने अफर गरेका छन् । राप्रपाले भने पुरै कार्यकालको लागि दाबी गरेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । एमालेका ४० र राप्रपाका ६ गरी ४६ सदस्य एकातिर छन् । कांग्रेस, माओवादीसहितका गठबन्धन दलसँग पनि ४६ सदस्य छन् ।

कोशी प्रदेशको सत्ता समीकरण परिर्वतन नहुनुको मुख्य कारण यही अंकगणित हो । एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

एमाले र राप्रपा मिल्दा सांसद संख्या ४६ हुन्छ । यस्तोमा उक्त गठबन्धनलाई सरकार बनाउन एक सिट नपुग्ने देखिन्छ ।  कांग्रेस र माओवादी सहितको गठबन्धनमा सरकार बन्ने अवस्थामा सभामुख बाबुराम गौतमले सोही गठबन्धनका उम्मेदवारलाई मत दिन सक्छन् । तर अर्को गठबन्धनले ४६ सांसदको समर्थन देखाएन भने सभामुखले निर्णायक मत दिन पाउने छैनन् । उक्त दिनमा कुनै एक सांसद अनुपस्थित भएमा सरकार नवन्ने अवस्था सिर्जना हुँदै सरकार आफैं विघटनमा जान्छ । अनि दोस्रो पटक यही प्रदेशका लागि मात्र निर्वाचन गरेर नयाँ प्रतिनिधि चयन गर्नुपर्ने हुन्छ ।

राजीनामा दिएको अवस्थामा भने सभामुखले पनि मत दिन पाउँछन् तर त्यसरी बनेको सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सभामुख नहुँदा सत्तागठबन्धन भित्र अप्ठ्यारो पर्ने भएकाले माओवादी यो विकल्पमा पनि पछि हटेको छ ।

यो संकट टार्न र मध्यावधिमा जानबाट रोक्न कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले राप्रपालाई विश्वासमा लिने प्रयास गरेको हो । कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला मुख्यमन्त्रीमा आफूलाई समर्थन गरेर स्थिर सरकार दिने ग्यारेन्टी भएमा राप्रपा नयाँ सत्ता–गठबन्धन निर्माणमा सहमत हुने बताउँछन् ।

‘राप्रपा निर्णायक शक्ति हो । हाम्रो मुख्यमन्त्री हुनु हुँदैन भन्ने पनि होइन होला नि’ उनले भनेका छन् । राप्रपाले सरकारको जिम्मेवारी लिँदा सशर्त मात्र लिने पनि उनको भनाइ छ ।  मुख्यमन्त्री पाउँदा पूरा चलाउन पाउनुपर्ने उनको शर्त छ ।

प्रदेश सभामा ६ सिट रहेको राप्रपा सामेल भए कांग्रेस, माओवादी, समाजवादी र  जनता समाजवादी सहितको गठबन्धनले सरकार निर्माणका लागि बहुमत पुग्छ । यसरी बन्ने गठबन्धनको पक्षमा प्रदेश सभामा ५० सिट पुग्नेछ ।

‘राप्रपाको एउटै सर्त रहेको छ, त्यो हो कांग्रेस र माओवादी केन्द्रले ४ वर्षका लागि मुख्यमन्त्रीमा समर्थन गर्ने लिखित प्रतिबद्धता जनाउनुपर्छ’ सिटौलाले भन्छन्, ‘अन्तिम एक वर्ष राप्रपालाई दिने भनेर हुँदैन । एक वर्ष दिँदा स्थिर सरकार बनाउन पनि सकिँदैन र काम पनि गर्न सकिँदैन् ।’

संविधानले सरकार गठनको अन्तिम विकल्प रहेसम्म प्रदेशसभा विघटन गर्न नसक्ने व्यवस्था गरेको छ । सवै प्रक्रिया पुरा गर्दा पनि सरकार नबनेमा मात्रै मध्यावधिमा जानुपर्ने अवस्था आउँछ । अहिलेकै परिस्थिति कायम रहे कोशी प्रदेश मध्यावधिमै जानुपर्ने अवस्था आउने अवस्था सिर्जना हुन्छ ।

२०४६ सालपछि राजनीतिक दलहरुले मध्यावधि चुनावको व्यवस्थालाई दुरुपयोग गरेको भन्दै नयाँ संविधानमा केही कडाइ गरिएको थियो । नयाँ संविधानमा सरकार गठनको अन्तिम विकल्पसम्म प्रयास गर्ने र त्यो पनि नहुने स्थितिमा मात्रै मध्यावधिमा जाने व्यवस्था छ ।

संविधानले संघ मात्र मात्र नभएर प्रदेशमा पनि सरकार गठनका चार विकल्प प्रष्ट रुपमा दिएको छ । सरकार बनाउँदा पहिलो बुहमत प्राप्त दल, त्यो नभए दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न सक्छन् । तेस्रो विकल्प ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न सकिन्छ । यसरी गठन भएको सरकारले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके कुनै पनि सासंदले आफूसँग बहुमत रहेको दाबी पेस गरेमा संघमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुखलेले प्रधानमन्त्री वा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यी चारै अवस्थामा पनि सरकार गठन हुन नसक्ने अवस्था भए मध्यावधीमा जाने अवस्था हुन्छ । सबै विकल्प सकिएर कोशी प्रदेशमा अप्ठ्यारो स्थिति देखा परेपछि राप्रपालाई मुख्यमन्त्री दिएर नयाँ सरकार बनाउने गृहकार्य अगाडि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय