नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य अधिकतम बिन्दुबाट करिब ४० प्रतिशत घटेको छ । २०७८ भदौमा ३२०० अंक नाघेको सूचक अहिले १९०० अंक मुनि झरेको छ । मूल्य बढ्ने वातावरण बनाउन लगानीकर्ताले सरकारी निकायहरूलाई दबाब दिइरहेका छन् ।

सेयरको मूल्य बढेर मात्र सेयरधनीलाई फाइदा हुने हो ? सरकारी निकायले मूल्य बढ्ने वातावरण बनाइदिन्छन् ? सेयरको मूल्य बढेर पहिलेभन्दा माथि पुग्छ ? यदि बढेन वा बढे पनि पहिलेभन्दा माथि पुगेन भने के गर्ने ?

नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जामा १ सय ५० प्रतिशत जोखिम भारित सम्पत्ति हुनुपर्ने व्यवस्था गरेको छ । यसलाई घटाएर १ सय प्रतिशत वा सोभन्दा केही कम गर्न सक्छ । एक व्यक्तिले १२ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने व्यवस्था छ । यो पनि संशोधन गर्न सक्छ ।

यता बैंकहरूमा निक्षेपको ब्याजदर घट्न सक्छ । यी सबै कारणले सेयरको मूल्य बढाउन सहयोग गर्छ । नियम खुकुलो गर्दैमा सेयरको मूल्य बढिहाल्ने होइन । यसका लागि सेयरको मागमा वृद्धि हुनुपर्छ । उचित वातावरणले माग वृद्धि गर्न सहयोग गर्छ ।

धेरै लगानीकर्ता पहिले महँगो मूल्यमा किनेर फसेका छन् । होल्ड गरेर त्यो मूल्यभन्दा माथि गएपछि बिक्री गरेर नाफा गर्छु भन्ने सोचमा छन् । मूल्य बढ्यो, पहिलेभन्दा माथि पुग्यो भने त राम्रै भयो । त्यो भएन भने के गर्ने भन्ने विकल्पबारे पनि लगानीकर्ताले सोच्नुपर्छ । नाफा गर्ने अरू विकल्प हुन सक्छन् ।

सेयरको मूल्य जति घट्यो उति फाइदा
मूल्य घटे पनि कम्पनीले दिने लाभांश घटेन भने लाभ लिन सकिन्छ । कम्पनीको मूल्य जति कम भयो डिभिडेन्ट इल्ड त्यति बढी हुन्छ । मूल्य घट्नु भनेको खरिदको अवसर हो । जति कम मूल्यमा किनियो, उति बढी प्रतिफल पाइन्छ ।

कम्पनीहरूको मूल्य पहिलेभन्दा माथि पुग्ने सम्भावना कम देखिन्छ । बरु अझै मूल्य घट्यो भने लाभ लिन सकिन्छ । घटेको मूल्यमा सेयर किन्ने । बढेर अहिलेकै दाम आयो भने बेचेर नाफा गर्न सकिन्छ ।

माथिल्लो मूल्यमा धेरै पैसा फसेको हुन सक्छ । तल्लो मूल्यमा थोरै थोरै किनेर त्यो घाटा असुल हुन गाह्रो छ । तर, बिस्तारै घाटा कम हुँदै जान्छ । घटेको मूल्यमा सेयर किनियो । केही समयपछि बैंकको ब्याज घटेर सेयरको डिभिडेन्ट इल्डले जित्यो भने झन् राम्रो भयो ।

पैसै नभए के गर्ने ?
सेयरको मूल्य घट्दा किन्ने पैसा भएकाले लाभ लिन सक्छन् । तर, पैसै नभएकाले के गर्ने ? सेयर बजारमा लगानी गर्ने आधारभूत नियम छन् । भएको पैसा सबै कहिल्यै लगानी गर्नु हुँदैन । बचतको केही अंश लगानी गर्ने हो । आधारभूत नियम नै मिचेर लगानी गरिएको छ भने समस्यामा पर्नु स्वाभाविक हो ।

आफैंले नियम मिचेर समस्यामा परिएको हो भने त्यसको दोष अरूलाई दिनु हुन्न । सेयरको मूल्य अरूले घटाइदिए वा अरूले बढ्न दिएनन् भनेर गाली गर्नुको अर्थ हुँदैन । आफ्नो गल्ती स्वीकार गर्नुपर्छ ।

सेयरको मूल्य कतिसम्म बढ्न वा घट्न सक्छ, त्यसमा मैले कति जोखिम वहन गर्न सक्छु भनेर सोचेर लगानी गर्नुपर्छ । विगतमा गल्ती गरियो भनेर पछुताएर मात्र पनि हुँदैन । अब उपाय खोज्न छोड्नु हुन्न ।

पहिलेको तुलनामा अहिले सेयर बजारको ज्ञान बढी हुन्छ । मूल्य अझै घट्छ भन्ने अनुमान लगाउन सकियो भने केही सेयर बेच्न सकिन्छ । तर तल्लो मूल्यमा सबै सेयर बेच्नु झन् जोखिम हुन्छ । केही गरी त्यसपछि मूल्य बढ्दै गयो भने नाफा गर्ने अवसरबाट वञ्चित भइन्छ ।

थोरै थोरै सेयर बेचेर नगद प्राप्त गर्न सकिन्छ । त्यो पैसाबाट नयाँ सेयर कारोबार गर्न सकिन्छ । पहिलेभन्दा अहिले नाफाको सम्भावना बढी हुन सक्छ, किनकि आफूसँग पहिलेको तुलनामा सेयरको ज्ञान बढी हुन्छ ।

सेयरमा पैसा फस्यो भनेर हात बाँधेर बसेर हुँदैन । आफ्नो सीप, ज्ञान भएको कुनै नयाँ व्यवसाय सुरु गर्न सकिन्छ । सेयरको मूल्य बढ्ने सम्भावना कम देखियो । तर आफूले सोचेको व्यवसायमा नाफाको सम्भावना देखियो । घाटामै भए पनि केही सेयर बेचेर पैसा जुटाउन सकिन्छ ।

घटेको मूल्यमा सबै सेयर बेचेर नयाँ व्यवसायमा पूरै लगानी गर्नु हुँदैन । यो काम बढी जोखिमयुक्त हुन्छ । यता सेयरको मूल्य बढ्ने र उता व्यवसाय पुनः डुब्ने अवस्था पनि आउन सक्छ । यसबाट झन् ठूलो समस्यामा पर्न सकिन्छ । नयाँ व्यवसायमा राम्रो प्रतिफल पाइने पक्कापक्की नै छ भने पूरै वा धेरै सेयर बेच्न पनि सकिन्छ ।

पहिलेको मूल्यभन्दा माथि जाने सम्भावना
कम्पनीहरूको मुनाफा बढ्यो भने सेयरको मूल्य बढ्न सक्छ । कम्पनीले विगतभन्दा दोब्बर–तेब्बर लाभांश दिए भने सेयरको मूल्य पहिलेभन्दा सजिलै माथि जान सक्छ । नगए पनि केही फरक भएन, किनकि लाभांशबाट राम्रो प्रतिफल आइहाल्छ ।
लाभांश अहिलेकै अवस्थामा रह्यो, तर बैंकमा निक्षेपको ब्याजदर १ प्रतिशतभन्दा तल झर्यो । यस्तो अवस्था आयो भने सेयरको मूल्य दोब्बर–तेब्बर बढ्न सक्छ ।

सरकारले विदेशीलाई सेयर बजारमा लगानी गर्न अनुमति दियो भने सजिलै मूल्य माथि जान सक्छ । विकसित देशमा बैंक निक्षेपको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । त्यसैले त्यहाँ नेपालको तुलनामा सेयरको मूल्य उच्च हुन्छ । यदि उनीहरूले नेपालको सेयर किन्न पाउने हो भने अहिलेभन्दा दोब्बर–तेब्बर मूल्यमा किन्न सक्छन् ।

माथिका तीन अवस्थाको सम्भावना न्यून छ । अरू अवस्थामा सेयरको मूल्य पहिलेभन्दा माथि जान सक्दैन त ? अन्य कारणले सम्भावना हुन सक्छ । बजारमा ठूला लगानीकर्ता प्रवेश गरे । खुद्रा लगानीकर्तामा लहर चल्यो । त्यस्तो अवस्थामा पनि सेयरको मूल्य माथि जान सक्छ ।

निष्कर्ष
पहिलेको मूल्यभन्दा माथि गयो भने बेचेर नाफा गरौंला भन्ने कतिपयको सोच छ । तपाईं त्यो मूल्यमा बेचेर नाफा गर्न चाहनुहुन्छ । त्यो उच्च मूल्यमा किन्न चाहने अरू व्यक्ति होलान् ? त्यसैले भविष्यको अनुमान गर्दा केही न केही आधार लिएर गर्नुपर्छ ।

पंक्तिकारले उल्लिखित आधार पहिचान गर्न सक्यो । पाठकहरूले अन्य आधार पहिचान गर्न सक्छन् । सेयर मूल्य ती सबै आधारभन्दा फरक आधारमा पनि बढ्न सक्छ । भविष्यको घटनाको सही पूर्वानुमान गरेर वर्तमानमा निर्णय लिन सकियो भने अति उत्तम भइहाल्यो । धेरैको अनुमान नमिल्न सक्छ । त्यसैले जे घटना भए पनि सामना गर्न सक्ने गरी वर्तमानमा निर्णय लिनु बढी बुद्धिमत्ता हुन्छ ।Source:Karobar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय