अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा बिहीबार आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताए ।

‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ, ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु’, उनले भने । उनले राष्ट्र बैंकले यसलाई गम्भीर रुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरे ।

राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए । उनले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताए । ‘ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ, यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ’, उनले भने ।

उनले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताए । ‘हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ, यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन’, उनले भने । उनले आर्थिक वर्षको अन्तिम त्रैमासमा  ठेक्का लगाउने परम्परा हटाउनुपर्ने धारणा राखे ।

आर्थिक वर्षको पहिलो दिनबाट काम शुरु गर्नुपर्ने भन्दै उनले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने स्पष्ट पारे ।

‘अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ, सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ’, उनले भने । मन्त्री महतले निजी क्षेत्रलाई समस्याका कारण र नतिजा बुँदागत रुपमा उल्लेख गरी सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय