अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन शनिबार देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै आफ्नो ठूला बडाबाट आशीर्वाद लिएर ईदुलफित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशिर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन रहेको छ ।

खुसीपूर्वक दान गरेर गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुलफित्र भनिएको हो । अरबिक पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुलफित्र मनाउने कार्यक्रम तय हुने भए पनि यसवर्ष शुक्रबार बेलुकी चन्द्रमा देखिएको आज यो पर्व मनाउन लागिएको हो ।

अरबिक पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले सोमबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद अथवा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरान शरिफमा उल्लेख गरिएको छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इदुलफित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फित्र भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको नाममा पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा उल्लेख छ । यो दान पनि गरिबलाई नै दिइन्छ ।

यसवर्ष (गत चैत १० गतेदेखि) मुस्लिम समुदायको एक महिना लामो व्रत (रमजान) शुरु भएको थियो । एक महिनासम्म दिनभर व्रत बसेर साँझ सूर्यास्तपछि नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महीनामा भोजन गर्नेे परम्परा रहेको छ ।

यसैबीच इदुउलफित्र (ईद)को अवसरमा रौतहटको राजपुर मद्रास महमुदियामा हजारौंको संख्यामा मानिस भेला भएर ईदको खुसीयाली मनाएका छन् । रौतहटका मुस्लिम समुदायले ईदगाह तथा मस्जिदहरुमा नमाज पढ्नुका साथै एकआपसमा शुभकामना साटेका छन् ।

ईदका दिन ब्रतालुहरु बिहानै आफ्नै घरमा सामूहिकरुपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमा याचना गर्दै अल्लाहको प्रार्थना (दुवा) गरेका छन् । ईद मनाउने क्रममा एकआपसमा अंकमाल गरी वर्षौको रिस राग बिर्सिएर शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

रौतहटको राजपुर नगरपालिकाका स्थानीय मौलाना मोहम्मद कारी शाहाबुदिनले मानवताका लागि नेपालीलगयात सबैका लागि, अल्लाहसँग दुवा प्रार्थना गरेर इदउलफित्र पर्व मनाइने बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय