प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीका कारण बुधवार नयाँ प्रधानन्यायाधीश नियुक्ति हुन सकेन । ओलीले संसदीय सुनुवाई विशेष समिति गठन नभएसम्म प्रधानन्याधीश नियक्ति नहुने भन्ने अडान राखेपछि बुधबारको बैठकले
प्रधानन्यायधीश नियुक्तिको विषय निष्कर्षविहिन भएको हो । थप छलफलपछि प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
बैठकमा विपक्षी दलका नेता ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका थिए ।
‘प्रधानमन्त्रीले अरु एजेण्डा छैनन्, प्रधानन्यायाधीशको नाम सिफारिस गरौं’ बैठकमा सहभागी एक नेताले मध्यान्हसँग भने ‘विपक्षी दलको नेताले अहिले संवैधानिक परिषदबाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याउनुपर्ने बताएपछि बैठकले निष्कर्ष लिन सकेन ।’
यो विषयमा दुईपटकसम्म बालुवाटार र बालकोटमा शीर्ष तहमा छलफल भएको स्मरण गराउँदै ओलीले प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए । एमालेले संसदीय समितिहरूको सभापतिसमेत दलीय आकार बमोजिम टुंगो लगाउनुपर्ने अडान लिएको छ ।
सले विपक्षीले पाउने लेखा समितिसहित ४ समिति सभापति र दुई विशेष समितिमध्ये एकको नेतृत्व दाबी गरेको छ । त्यसपछि संवैधानिक परिषद बैठक बस्नु उपयुक्त हुने एमालेको अडान छ ।
तर सत्तारुढ दलहरुले संसदीय प्रचलन अनुसार, सार्वजनिक लेखा समिति बाहेक अन्य समितिको हकमा बहुमतका आधारमा निर्णय गरेर नेतृत्व चयन गर्नुपर्ने अडान राखेका छन् । संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने भन्दै ओलीले त्यो विषयलाई पनि साथसाथै किनारा लगाउनुपर्ने अडान राखेका हुन् ।
बैठकमा ओली आक्रोशित रुपमा प्रस्तुत भएपछि प्रधानन्यायाधीश नियुक्तिको विषय एजेण्डाको रुपमा प्रस्तुत भएपनि कुनै निर्णय हुन नसकेको ती सदस्यले बताए । त्यसलगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना रुस भ्रमणका लागि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गए । उनले बैठकमा यो विषयमा सहमति भए १२ गते आफू फर्केर हस्ताक्षर गर्ने प्रतिक्रिया दिएका थिए ।
