तर, माओवादी केन्द्रले प्रदेश पार्टीको तर्फबाट अध्यक्ष हर्कबहादुर नेम्वाङ र उनै सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भने पुनः नामकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ । ‘नामाङ्कन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यवद्धता रहेको छ,’ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रले पहिचान पक्षधरहरुको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नामकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
माओवादी केन्द्रले चैत १८ गते जारी गरेको यो विज्ञप्ति र चार दलसँग चैत १२ गते जारी गरेको संयुक्त विज्ञप्तिमा दुई फरक दृष्टिकोण देखिन्छ । यही बेला पार्टीको केन्द्रीय पदाधिकारी बैठकले समेत कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको निष्कर्ष निकालेको हो ।
पदम लिम्बुलाई शहीद घोषणा गर्न माग
पहिचान पक्षधरको आन्दोलनका क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो । माओवादी केन्द्रले लिम्बुलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । ‘हामी शहीद घोषणा गर्नुपर्छ र राहत दिनुपर्छ भन्ने पक्षमा छौं’ माओवादी केन्द्रका उपाध्यक्ष महराले भने ।
माओवादी नेता गिरिराजमणि पोखरेलका अनुसार कोशी प्रदेशो नामाकरणो विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गरेर छलफल गर्ने तय छ । बैठकपछि पोखरेलले भनेका छन्, ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ । यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ ।’ Source:Madhyanha



