पछिल्लो समय नापतौलमा ठगी मौलाउँदै गएको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंले पछिल्लो आठ महीनामा नापतौलमा ठगी गर्ने झण्डै ८ हजार व्यापारीलाई कारबाही गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको आठ महीनामा अनियमितरूपमा नापतौल यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने ७ हजार ९४४ व्यापारीलाई कारबाही गरेको जानकारी दिएको छ ।
पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विशेष निगरानी बढाइएको कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ उनले भने ।
सो कार्यालयले फागुन महीनासम्म २ हजार ७५ व्यापारीलाई नापतौल यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले जानकारी दिएको छ । कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि १२५ पटक एकल अनुगमन र ११६ पटक संयुक्तरूपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए ।
चालू आर्थिक वर्षको आठ महीनामा कार्यालयबाट ५ हजार ८६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, ४१५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, ५ हजार ७० ट्याक्सीको मिटर जाँच गरिएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउँछन् । ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने ।
सो कार्यालयले चालू आर्थिक वर्षको आठ महीनामा रू. १ करोड ३५ लाख ६३ हजार ६७९ राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । रासस
