जिल्ला प्रहरी परिसर काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन चिट’ दिन राय दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले ४ दिनअघि सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । तर, सरकारी वकिल कार्यालयले प्राप्त प्रतिवेदनउपर निर्णय लिएको छैन । झुटो विवरण बुझाएर अमेरिकी नागरिक हुँदाहुँदै नेपाल पासपोर्ट लिएको मुद्दामा उनीविरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्नेबारे सरकारी वकिलले आइतबार निर्णय गर्दैछ ।
त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले उनको सांसद पद खारेज गरेको थियो । त्यतिबेला उनी उपप्रधान एवं गृहमन्त्री समेत थिए । त्यसपछि उनले राजीनामा दिएका थिए । उनले नागरिकता पुनः प्राप्ति गरेका थिए । यस्तै, निष्क्रिय भएको नागरिकताबाट राहदानी पनि फिर्ता गरेका थिए ।
अनुसन्धान अधिकृतहरुका अनुसार राहदानी विवादमा म्द्दा चलाउन सकिने आधार पनि थियो । अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली राहदानी लिएको देखिएकाले ‘झुटो विवरण पेश गरेको’ अर्थ समेत लगाउन सकिन्थ्यो । तर मुद्दा चलाउने हो भने बदनियत स्थापित गर्न भने सहज नभएको भन्ने आधार पनि थियो ।
तर, क्लिन चिट दिने रायसहितको प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि सरकारी वकिलसँग छलफल समेत भएको थियो । छलफलपछि मुद्दा नचलाउने सुझावसहितको अनुसन्धान प्रतिवेदन बुझाउन तयार भएको हो । कतिपयले यसमा राजनीति पनि जोडिएको छ ।
२२ माघमा सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएका रविले समर्थन फिर्ता लिएका छैनन् । २५ फागुनको राष्ट्रपति निर्वाचनमा पनि उनको दल रास्वपाका सांसदहरुले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका रामचन्द्र पौडेललाई मत दिए । अहिले पनि रास्वपा सभापति लामिछाने प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरु निरन्तर सम्वादमा छन् । रविले १० वैशाखको उपचुनावपछि आफ्नो दल सरकारमा आउने प्रष्ट सन्देश दिने गरेको पनि नेताहरु बताउँछन् । Source:madhyanha
