राष्ट्रपति उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज निर्णायक वार्ता।
काठमाण्डाै – राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज शुक्रवार निर्णायक वार्ता हुँदैछ । भोलि शनिवार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू सकेसम्म आजै बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउने प्रयासमा छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दैै हुनुहुन्छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को पनि संयुक्त बैठक बस्ने तयारी छ । हिजो बिहीवार बसेको माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको थियो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँच दलीय पुरानो गठबन्धन ब्युँताउनेबारे अन्तिम प्रयास गर्नेछ । पुरानो पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका थिए ।कांग्रेसले राष्ट्रपतिको विषयमा निर्णय गर्न भोलि बिहान कार्यसम्पादन समिति बैठक बोलाएको सह–महामन्त्री जीवन परियारले जानकारी दिनुभएको छ । बैठकले कांग्रेसका तर्फबाट उम्मेदवारको नाम टुङ्ग्याउनेछ । वर्तमान सत्ता गठबन्धनमा रहेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि यसबारेमा पनि सहमतिको प्रयास भइरहेको छ ।आउँदो २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।
